Logo

धर्मनिरपेक्षताको विषयमा जनमतसंग्रह गरेर निकास दिनुपर्छ : माओवादी नेता



काठमाडौं, ४ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता रामकुमार शर्माले नेपाललाई हिन्दूराष्ट्र दिने कि धर्मनिरपेक्षता दिने भन्ने सम्बन्धमा जनमतसंग्रहको आवश्यकता औंल्याएका छन् ।
‘मुलुकको दुरावस्था र तीन करोड नेपालीको समस्या र समाधानका लागि मैले आफ्नो बुद्धि र विवेकले भ्याएसम्म १८ बुँदामा समेटेर हाम्रो पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई हिजो ज्ञापनपत्र बुझाएको छु । मलाई चार–पाँच वर्ष पहिले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नै यो विचार आएको थियो । तर प्रचण्ड निकटको मान्छेले यस्तो कुरा ल्यायो भन्ने पर्ला भनेर अहिलेको समय रोजेको मात्र हुँ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
माओवादी नेता शर्माले आफ्ना मागमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक रहेको दाबी पनि गरे । उनले भने, ‘प्रधानमन्त्रीले यी सबै जनताका मुद्दा हुन्, कतिपय मुद्दा बजेटबाटै समाधान हुन्छन् । कतिपय जनताले धेरै ठूलो चासो राखेका र बहस भएका मुद्दा छन् भन्नुभयो । तर हिन्दूराष्ट्र वा धर्मनिरपेक्षता रोज्ने भनेर जनमतसंग्रह गर्ने उपयुक्त समय होइन भनेर रिजभर्सेन राख्नुभएको छ ।’
साथै उनले हिन्दूराष्ट्र माओवादी पार्टी र आफ्नो एजेन्डा नभएको स्पष्ट पारे । शर्माले थपे, ‘यो हाम्रो एजेन्डा होइन । तर राज्य भनेको त तीन करोड जनताको हो नि । सुतुरमुर्गले जस्तो टाउको उठाएर मलाई ठीक छ भनेर मात्र त भएन नि । नेपाल पहिले हिन्दूराष्ट्र नै हो । संविधानसभापछि हामीले विस्थापित गर्यौं । यही एजेन्डा उठाउने पार्टी संसदमा पाँचौं पार्टी भएर आएको छ । राष्ट्रियता, सार्वभौममिकताबाहेक कुरामा त जनमतसंग्रह हुन सक्छ भनेर संविधानमै लेखिएको छ । यो सडकदेखि संसद्सम्म उठेको विषय हो । कांग्रेस, एमाले, माओवादी धर्मनिरपेक्षताको पक्षमा भने जनमतसंग्रह गर्न किन नडराउने ? यसले नै निकास दिन्छ ।’
भ्रष्टाचार नियन्त्रण र चुरे संरक्षण आफ्नो एजेन्डा भए पनि त्यसलाई गौण बनाइएको गुनासो पनि शर्माले गरे । उनले भने, ‘म हिन्दूराष्ट्रको अभियन्ता होइन । मेरो मूल विषय एन्टीकरप्सन र चुरे संरक्षण हो । अरु विषयलाई गौण बनाएर त्यसलाई मात्र हाइलाइट गरिएको छ । अहिले सर्वदलीय भ्रष्टाचार छ । कानुनी राज छैन । सुशासन जनताको साझा सवाल हो ।’ भ्रष्टाचारीलाई कारबाही नभए आम नागरिक सडक विद्रोहको स्थितिमा जाने खतरा पनि उनले औंल्याए ।



प्रतिक्रिया दिनुहोस्