Logo

‘क्यान्टोन्मेन्ट’मा ‘भ्रष्टाचार’ ठहर भए जेल जान तयार : प्रचण्ड



काठमाडौं, जेठ ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘क्यान्टोन्मेन्ट’मा ‘भ्रष्टाचार’ ठहर भए आफू जेल जान तयार रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले क्यान्टोन्मेटमा भ्रष्टाचार नभएको दाबी गर्दै यदि भ्रष्टाचार भएको प्रमाणित भए त्यसको जिम्मेवारी लिँदै आफू जेल जान तयार रहेको उनले बताए ।

प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसद ज्ञानबहादुर शाहीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राजनीतिक आग्रह र पूर्वाग्रहका साथ भ्रष्टाचार भएको भन्ने गरिएको बताए ।

सांसद शाहीले प्रश्न गरे, ‘पेन्सन र प्रहरीको तलब दिन नसक्ने स्थिति चार महिनादेखि देखापरेको छ । तपाईंको समाधान के छ रु र पूर्वमाओवादी लडाकुलाई राज्यकोषबाट वितरण भएको रकममा व्यापक भ्रष्टाचार भएको आरोप छ । तपाईं संसद्को विशेष समिति गठन गरेर यसको छानबिन गर्न तयार हुनुहुन्छ ?‘

‘क्यान्टोन्मेन्टको कुरा पूर्वाग्रही र कपोलकल्पित छ भन्ने मेरो दृढ विश्वास छ । फेरि पनि कसैले दिएको उजुरीकै आधारमा छानबिन गरेर दोषी ठहरिए म आफैं जेल जान तयार रहेको कुरा पनि म यहाँहरूलाई जानकारी गराउन चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले जवाफ दिँदै भने ।

त्यतिबेला शान्ति सम्झौता भएर क्यान्टोन्मेन्टमा पूर्वजनमुक्ति सेनालाई राख्ने निर्णय भइसकेपछि क्यान्टोन्मेन्टको भौतिक पूर्वाधार र योद्धाहरूको रासनपानीका निम्ति भनेर राज्यबाट दिइएको रकम र त्यसको अडिट, त्यसको हिसाबकिताब, त्यहाँ कोको थिए, ककसले लिए भन्ने कुरा सबै रेकर्ड रहेको उनले बताए ।

‘त्यतिबेला गिरिजाप्रसाद प्रधानमन्त्री हुनुहुन्थ्यो । डा. रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो । उहाँहरू समेतले रुजु गरिसकेपछि पटाक्षेप भइसकेको विषय हो,’ उनले भने ।

उनले आफ्नो दलको घोषणापत्रमै २०४८ सालदेखिकै सबै घटनाको, सबै उच्च पदस्थ अधिकारीको सम्पत्ति छानबिनको सम्बन्धमा या विभिन्न समयमा उठेका भ्रष्टाचारसम्बन्धी सबै मुद्दामा छानबिन गर्ने विषय उठाएको बताउँदै भने, ‘हामी सबै राजनीतिक तहमा एउटा संकल्प गरेर जाँदा सबै चिज छानबिन गर्न सकिन्छ । देशमा सुशासनको, भ्रष्टाचारबाट उन्मुक्तिको नयाँ युग सुरु गर्न सकिन्छ ।’

यस्तै, प्रधानमन्त्री प्रचण्डले द्वन्द्वकालीन समयमा भएका जघन्य अपराधमा सरकारले कसैलाई पनि उन्मुक्ति नदिइने प्रतिबद्धता व्यक्त गरेका छन् । संक्रमणकालीन न्यायसम्बन्धी प्रक्रिया अब सहमतिमा नै टुंगोमा पुग्ने उनले बताए । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्