Logo

राष्ट्रपति पौडेलले सङ्घीय संसदमा आज पहिलो सम्बोधन गर्दै



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने भएका छन् । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिमा चयन भएपछि सङ्घीय संसदमा उनको यो पहिलो सम्बोधन हुन लागेको हो ।

सङ्घीय संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने तथा त्यसमाथि छलफल गरी पारित गर्ने सङ्घीय संसद्को मुख्य कार्य जिम्मेवारीभित्र पर्छ ।

उक्त बैठक अवलोकनका लागि राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि, सरकारका उच्च पदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट महानुभाव सहभागी हुनेछन् । उक्त बैैठकपछि आजै प्रतिनिधिसभा र राष्ट्रियसभाका बेग्लाबेग्लै बैठक बस्ने छन् ।



प्रतिक्रिया दिनुहोस्