काठमाडौं, जेठ ५ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
संघीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने संसद् सचिवालयले जनाएको छ।
राष्ट्रपति पौडेलले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने संवैधानिक व्यवस्था छ। राष्ट्रपतिमा चयन भएपछि संसदमा उनको यो पहिलो सम्बोधन हुन लागेको हो।
संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम छ। नीति तथा कार्यक्रम प्रस्तुत भएपछि आजै प्रतिनिधिसभा र राष्ट्रियसभाका बेग्लाबेग्लै बैठक बस्ने छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलको सम्बोधन प्रति ती बैठकमा टेबुल गर्नेछन्। प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद ज्ञापनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
सरकारले आज पेश गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि लगातार केही दिन छलफल हुनेछ। सो छलफल समाप्त भएपछि जेठ १५ गते वार्षिक बजेट प्रस्तुत हुने संवैधानिक व्यवस्था छ।
राष्ट्रपतिको आवागमन समयलाई ध्यानमा राखेर बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । आवागमनको समयमा सडकमा गुडिरहेका सवारीलाई बाधा नपुग्ने गरि राष्ट्रपति संसद भवन पुग्ने जनाईएको छ ।
यसअघि चैत ४ गते ४ राष्ट्रपति पौडेल कारकेड नलिई काठमाडौंको बसन्तपुरस्थित कुमारी घर पुगेका थिए । कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परालाई तोड्दै कारकेड बिनानै उनले त्यहाँ पुगेर कुमारीको दर्शन गरेका थिए।
त्यसक्रममा सर्वसाधारणले सडकमा सवारी साधन चलाइरहेका थिए भने पैदलयात्रुलाई पनि रोकिएको थिएन । यअसघि पूर्व राष्ट्रपति विद्यादेखि भण्डारी संसद भवन सवारी हुँदा सडक खालि गराएर सर्वसाधारणलाई हिँड्नसमेत रोक लगाउने गरेपछि आलोचना हुने गरेको थियो ।