Logo

मन्त्री निवास चाँडो सक्न ताकिता



ललितपुर, जेठ ७ । ललितपुरको भैँसेपाटीमा निर्माणाधीन राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधि सभाका उपाध्यक्ष, सङ्घीयमन्त्री निवास, प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको आवास तथा सम्पर्क कार्यालय निर्माण अझै सम्पन्न हुन सकेको छैन ।

दुई वर्षभित्र निर्माण सक्ने गरी सङ्घीयमन्त्री निवासका लागि सहरी विकास मन्त्रालय र निर्माण कम्पनीबिच २०७६ कातिक २७ गते र प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय निर्माणको सम्झौता २०७६ असोज २७ गते भएको थियो ।

ती निवासको निर्माण सम्पन्न गर्न यसअघि तीनरतीन पटक निर्माण अवधि थपिसकिएको छ । यस वर्षको वैशाखमा तेस्रो पटक थप गरिएको म्याद भदौसम्म छ । २०७९ सालको आमचुनावअगावै मन्त्रीहरूको सरकारी निवास पुल्चोकबाट भैँंसेपाटी सार्ने तयारी थियो तर निर्माण सम्पन्न हुन नसक्दा मन्त्री निवास स्थानान्तरण गर्ने सरकारको योजना सफल हुन सकेन ।

सहरी विकास तथा भवन विभाग मातहतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका निर्देशक माचाकाजी महर्जनले कोभिड–१९ को महामारी तथा निर्माण कार्य सुरु भएयता पटक पटक भएका निर्वाचनका कारण निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेको र पटक पटक म्याद थप गर्नु परेको तर्क गरे।

ढिलो हुन गएको समयलाई समेत व्यवस्थापन गर्दै कामलाई तीव्रता दिन निर्माण कम्पनीहरूलाई ताकिता गरिएको र अहिले सोही अनुसार काम भइरहेको निर्देशक महर्जनका अनुसार आयोजनाको मुख्य संरचनाको काम सम्पन्न गरी ‘फिनिसिङ’ तथा भित्री बाटो निर्माणको काम भइरहेको छ । ती आवासको अहिलेसम्मको भौतिक प्रगति ९० र आर्थिक प्रगति ७० प्रतिशत छ ।

उहाँका अनुसार मन्त्री निवास अन्तर्गत कुल २७ वटा भवन निर्माण भइरहेका छन् । जसमध्ये २४ वटा मन्त्रीका लागि, दुई वटा राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्षका लागि र एउटा सङ्घीय प्रतिनिधि सभाको उपाध्यक्ष निवासका लागि निर्माण भइरहेका छन् । यो निवास ९६ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको छ ।

त्यसैगरी प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय निर्माण कुल २७ रोपनी १२ आना क्षेत्रफलमा भइरहेको छ । सात वटै प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सात वटा भवन निर्माण भइरहेका छन् । एउटा भवनको निर्माण क्षेत्रफल साढे चार आना रहेको छ । काठमाडौँ उपत्यकाको परम्परागत सम्भाता र शैलीमा यी भवनको निर्माण भइरहेको बताइएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्