काठमाडौं, जेठ १० । नेपाली कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) को सातौं अधिवेशनको माहोल तातेको छ ।
आगामी जेठ १३ गते हुने निर्वाचनमा सिडेन अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ। इन्जिनियर चेतनाथ पाण्डे, लक्ष्मण केसी र प्रमोद दवाडी प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्। पुल्चोक ईन्जिनियरिङ क्याम्पसबाट ईन्जिनियरिङ गरेका पाण्डेले सिडेनको संस्थापक महासचिव रहि सिडेनलाई नेपाल इन्जिनियर्स एसोसियसनको निर्वाचनमा लोकतान्त्रिक ईन्जिनियरहरुको समुहलाई बिजयी गराउन महत्वपूर्ण भूमिका खेलेको जानकारहरु बताउँछन्।
बिगत लामो समयदेखि पदमा नरहदॉं पनि संस्थामा इमान्दारीता पूर्वक खटिने चरित्रका कारण पाण्डे लोकतान्त्रिक इन्जिनियरहरु माझ लोकप्रिय छन्। अर्का अध्यक्षका उम्मेदवार लक्ष्मण केसी नेपाल इन्जिनियर्स एसोसियसन २७ औ केन्द्रिय समितिमा सदस्य रहेका थिए। सदस्य निर्वाचित भएपछि जिम्मेवारी बहन नगरी बिदेश पलायन भएको आरोप केसीलाई लाग्ने गरेको छ।
सिडेन ५औं कार्यसमितिको उपाध्यक्ष रहदॉं केसी कै कारण गुटगत टिकट वितरण हावी हुदाँ लोकतान्त्रिक इन्जिनियरहरुले नेपाल इन्जिनियर्स ३२ औं केन्द्रिय कार्यसमिति र पहिलो प्रदेश कार्यकारिणी समितिहरुको निर्वाचनमा इतिहासकै लज्जासपद हार ब्यहोरेको आरोप पनि लाग्ने गरेको छ।
सिडेन छैठौ कार्यसमिति निर्वाचन समयमा नै नगराएको तथा निर्वाचन पूर्व बिधान बिपरित आफ्नो गुट अनुकुल मध्यरातमा सदस्य दर्ताको समय बढाउनुमा पनि मुख्य हात केसीकै रहेको आरोपसमेत लाग्ने गरेको छ। नेपाल इन्जिनियर्स एसोसियसन ३० औं कार्यसमितिका सदस्य दवाडी पनि अध्यक्षका अर्का प्रत्यासी हुन्।
पाण्डे प्यानलबाट उपाध्यक्षमा कौशल केसी र महासचिवमा हुकुमबहादुर बुढाको उम्मेदवारी परेको छ । सिडेनमा २५ सदस्यीय केन्द्रीय समिति चयन हुने छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष गरी पाँच जना पदाधिकारी र २० जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । यस्तै सातै प्रदेशमा पाँच पदाधिकारीसहित १५ जनाको कार्यसमिति चयन हुन्छ । सिडेनमा प्रदेश सभापति केन्द्रीय कार्यसमितिको पदेन सदस्य रहने व्यवस्था छ ।