Logo

पूर्वराजा ज्ञानेन्द्रलक्षित रघुवीर महासेठको टिप्पणी : गणतन्त्रको विरुद्धमा विदेशमा गएर षड्यन्त्र गरिरहेका भीभीआईपीहरुको सुविधा खोस्नुपर्छ (भिडिओसहित)



काठमाडौं, १० जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा सांसद रघुवीर महासेठले पूर्वराजा ज्ञानेन्द्र शाहलक्षित कडा टिप्पणी गरेका छन् । उनले केही भीभीआईपीहरुले गणतन्त्रको विरुद्धमा विदेशी भूमिमा गएर षड्यन्त्र गरेको भन्दै त्यस्ता भीभीईपीहरुको सुविधा खोस्नुपर्ने माग गरेका छन् । आज (बुधबार) को प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने,‘‘भर्खरै मिडियाहरुमा सुनिएको छ, केही भीभीआईपीहरुले गणतन्त्रको विरुद्धमा, व्यवस्थाको विरुद्धमा विदेशी भूमिमा गएर, विदेशीहरुसँग छलफल गरिरहेका छन् । यदि यो कुरा यथार्थ हो भने सभामुख महोदयमार्फत म सरकारलाई अनुरोध गर्न चाहन्छु– त्यस्ता भीभीआईपीहरु जो गणतन्त्रको विरुद्धमा विदेशमा गएर षड्यन्त्र गरिरहेका छन् त्यस्ता भीभीआईपीहरुको सुविधाहरु खोस्नुपर्छ ।’

केही समय पहिले पूर्वराजा ज्ञानेन्द्रले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका थिए । त्यसलगत्तै उनले सुदुरपश्चिमको धनगढीमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा पनि अहिलेको व्यवस्थाको विरुद्धमा बोलेका थिए । महासेठले पूर्वराजा शाहको नाम नलिएपनि उनको टिप्पणी ज्ञानेन्द्रलक्षित नै रहेको बुझिएको छ ।

उनले आफूले संसद्भित्र र बाहिर तीन थरी शक्ति पाएको उल्लेख गरे । उनले भने,‘एउटा यथास्थितिवादी, जो अहिले पनि नीति तथा कार्यक्रम जस्ताको त्यस्तै पास गर्नुपर्छ भनेर भनिरहनुभएको छ। र, अर्को परिवर्तनकारी शक्ति छ । तेस्रो चाहीँ दुवै शक्तिलाई गलत देखाएर आफू स्थापित हुनेगरि परिवर्तनका लागि लडेका पार्टीहरुका विरुद्धमा भित्र र बाहिर भाषण गर्नेगरि शक्तिहरु आइरहेका छन् । त्यस्ता शक्तिबाट हामी सावधान हुनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्