Logo

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा नयाँ एजेन्डा छैनन् : कूटनीतिज्ञ बराल



काठमाडौं, ११ जेठ । वरिष्ठ कूटनीतिज्ञ एवं प्राध्यापक लोकराज बरालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा कुनै नयाँ कुरा नहुने टिप्पणी गरेका छन् ।
‘प्रधानमन्त्रीको भारत भ्रमण हुनु ठीकै हो । यो गुडविल भिजिट हो । दुइटा देशका नेताबीच भेटघाट हुन्छ । सामान्य मैत्री सम्बन्ध हुन्छ । तर भयंकर ठूलो वा ऐतिहासिक भ्रमण होला जस्तो लाग्दैन । किनभने भ्रमणमा नयाँ कुरा छैनन् । सबै एजेन्डा पुरानै हुन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
सीमा, सुरक्षा आदि गहन समस्या सजिलै हल नहुने पनि बरालले औंल्याए । उनले भने, ‘नयाँ विषय उठाउनका लागि उठाउनु बेग्लै कुरा हो । विषय उठान मात्र भएर भएन, बैठान पनि हुनुपर्‍यो नि । विगतका धेरै सन्धि-सम्झौता कार्यान्वयन नै भएका छैनन् । सीमा, सुरक्षा आदि गहन समस्या हुन् । सजिलै हल हुने कुरा होइनन् । हवाईजहाजलाई रुट दिने, नेपालमा उत्पादित बिजुली बेच्ने व्यवस्था, डुबान, बाढी, विकासका कुरालाई महत्त्व दिने दिए पनि ठूलै कुरा हुन्छ ।’

‘हाम्रो नेतृत्वमा विश्वसनीयताको कमी भो’
नेपालको सरकार आन्तरिक रुपमा बलियो नभएकाले पनि भ्रमण फलदायी हुनेमा उनले आशंका गरे । बरालले थपे, ‘नेपालमा बलियो सरकार बन्नै सकेन । (केपी) ओलीजीको दुई तिहाइको सरकार पनि हावादारी काममै लाग्यो । । हिँड्दै छ, पाइला मेट्दै छ भन्या जस्तो आफ्नै पहलमा भएको महाकाली सन्धिमा गल्ती भएको रहेछ भन्नुहुन्छ ओली । अहिले १० वटा पार्टी मिलेर सरकार बनेको छ । ३२ सिटे पार्टीले नेतृत्व गरेको छ । नेताहरु सानो कुरालाई पनि उछाल्छन् । हाम्रो नेतृत्वमा विश्वसनीयताको कमी भो ।’
भारत सरकारले पनि सानासाना कुरामा अत्तो थाप्न नहुने बरालले औंल्याए । उनले भने, ‘भैरहवा एयरपोर्ट, पोखरा एयरपोर्ट, तामाकोसी जलविद्युत् चीनले बनाइदिएको भनेर अत्तो थाप्न मिल्दैन । भारत हाम्रा साधारण कुरामा मात्र लचिलो भैदिए हुन्थ्यो । तर यसमा भारतको मात्र दोष छैन, हाम्रो पनि दोष छ । यहाँ राजनीति बढी भो, आर्थिक कुरा प्राथमिकतामै परेन ।’ कृषि, जलस्रोत र पर्यटनमा भारतको सहयोग लिन सके नेपाललाई लाभ मिल्ने पनि बरालले बताए । प्रधानमन्त्री प्रचण्ड जेठ १७ मा चार दिने भारत भ्रमणमा जाँदै छन् ।
भूटानका लागि पूर्व राजदूतसमेत रहेका बरालले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला मानिसलाई चोख्याउन खोजिएको आरोप लगाए । उनले भने, सञ्चारमाध्यम हेर्दाखेरि ठूलठूला मानिसलाई जोगाउन खोजेको देखिन्छ । मन्त्रीले निर्णय गरेको हुन्छ, तर ऊ दोषी नहुने, तलका मात्र दोषी हुने ? यस्तै मनपरीतन्त्रका कारण श्रीलंकामा कसरी जनता सडकमा उत्रिए ? बेलैमा बुद्धि पुर् याउनुपर्छ नेताले ।
‘कांग्रेसमा संगठित विद्रोह चाहिएको छ’
नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन गर्न इतर समूहको तागत तत्काल नपुग्ने पनि उनले बताए । बरालले भने, ‘गगन थापाले भन्दैमा तुरुन्त हुन्छ भन्ने छैन । हटाउन पनि ताकत चाहियो, कार्यकर्ताले पनि साथ दिनुपर्‍यो । तर जनमत बनाउन पनि बोल्नुपर्छ । अब संगठित विद्रोह नगरीकन नेतृत्व परिवर्तन हुँदैन । नेतृत्वलाई मैले छाड्नुपर्छ भन्ने चेतना नै छैन । नयाँ पिँढीलाई पनि हेरौं भन्ने नै छैन । जनताले विकल्प खोजेका छन् ।लोकतान्त्रिक विकल्प आउने लक्षण देखिएको छ । त्यसको सबभन्दा ठूलो घाटा नेपाली कांग्रेसलाई नै हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्