काठमाडौं,१३ जेठ । यही जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा भएको दिन । देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै छ । सोही दिवसको सन्दर्भ पारेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) ले ललितकला क्षेत्रकै महोत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ आयोजना गर्न लागेको छ । हरेक वर्ष वैशाख २ गतेदेखि आयोजना हुने प्रदर्शनी यस वर्षदेखि गणतन्त्र दिवसका दिन सञ्चालन गरिनेछ ।
जेठ १५ देखि ३० गतेसम्म हुने कला प्रदर्शनी प्रतिष्ठानको कार्यालय नक्साल र बबरमहलस्थित नेपाल कला परिषद्मा हुनेछ । प्रदर्शनीमा ६ सय १० कलाकारका ६ सय ९७ कलाकृति राखिनेछ । ‘म, मेरो देश र मेरो सिर्जना’ मुख्य विषय राखेर आयोजना हुन लागेको प्रदर्शनी र मुलुकको समग्र कला क्षेत्रका बारेमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीसँग राससकर्मी नारायण ढुङ्गानाले गरेको कुराकानीको सम्पादित अंश:
यहाँले गणतन्त्र दिवसलाई कसरी सम्झनुहुन्छ ?
–नेपालको राजनीतिक इतिहासमा एउटा परम्पराको सामन्त, व्यक्तिवादी परिवेशमा चल्ने राजनीतिक परम्परालाई क्रस गरेर सामूहिक जीवन प्रणाली, समता र समानतालाई पनि ध्यान दिँदै एक खालको मुलुकको वर्गीय मुक्ति र सामाजिक लैङ्गिक विभेदलगायत अन्यायलाई चिरेर आएको राजनीतिक रुपान्तरण हो गणतन्त्र । गणतन्त्रसँगै सकारात्मक पक्षतर्फ उन्मुक्त हुने गरी समाज परिवर्तन भएको छ । समाजवादोन्मुख मुलुक स्थापना भएकाले यो एउटा सरकारात्मक रुपमा अघि बढिरहेको चरणगत अवस्था हो ।
तपाइँ ललितकला क्षेत्रको सबैभन्दा ठूलो प्रतिष्ठानको कुलपति हुनुहुन्छ, गणतन्त्रसँग कलालाई कसरी जोड्न सकिन्छ ?
–यसलाई हेर्दा गणतन्त्र अघि र पछिको कुरा जोडिएर हेर्नुपर्छ । गणतन्त्र राजनीतिक विषय हो । कला राजनीति होइन । विधागत रुपमा विषयहरु छ तर देश समाज र मानवीय चेतना विकासका सन्दर्भमा समपूरकका रुपमा जोड्नुपर्ने हुन्छ । राजनीति समाजको ‘सफ्टपावर’ हो र कला पनि ‘सफ्टपावर’ हो । यी दुई कुरा चाहिँ परिपूरक नै छभन्दा हुन्छ । सामाजिक रुपान्तरण, समानता, विभेदका सन्दर्भमा राजनीतिमा गरेको नीति र कलाकारले पनि त्यो रुपान्तरणसँग जोडेर सिर्जनशील कुरा पस्कने कुरा कला हो । भावनात्मक, संवेदशशील पक्षलाई जोड्दा कलाको सामाजिक रुपान्तरणमा सहभागिता हुन्छ । राजनीति गणतन्त्रको धारमा नयाँखाले विचार अघि बढाएकाले त्यसलाई उपयोग गर्दै कलाकै भाषाबाट अभिव्यक्ति गर्ने गरी लान सकिन्छ । ‘प्लेटफर्म’ मात्रै फरक हो । कलामा पनि वाद हुन्छ भने राजनीतिमा पनि वाद हुन्छ ।
गणतन्त्रले कला क्षेत्रलाई के दियो?
–कलाको प्रयोजन र सदुपयोग कहाँ गरियो भन्ने सन्दर्भमा रजानीतिको इजमसँग जोड्छौँ । तर कलाको आफ्नै शैली, प्रस्तुति आफ्नै विधागत हुन्छ । चित्र, चित्रकै भएरै तथा मूर्ति, मूर्तिकै र कविता, कविताकै स्वरुपमा जानुप¥यो । त्यसैले गणतन्त्रले तल्लोस्तरमा रहेका रैथाने समुदाय, लोकसंस्कृति र जनजीवनलाई बढाउनका लागि गणतन्त्रले धेरै सहजीकरण गरेको छ । त्यसैले गणतन्त्रकै कारण संस्कृतिकर्मी, कलाकारका लागि अब चाहिँ विधामा पनि फराकिलो भएको छ । गणतन्त्रले त्यो अवसर मिलाइदिएको छ । पहिले कतै राजाले, सत्ताले केही भन्छ कि, पुलिसले केही गर्छ कि भन्ने थियो । तर अहिले स्वतन्त्र रुपले सिर्जनामा विचार व्यक्त गर्न सक्ने भएका छौँ । गणतन्त्रले सिर्जना, विधा र विचारका क्षेत्रमा स्वतन्त्रता दिएको छ ।
गणतन्त्र आउनुअघि साँच्चै कला सिर्जना गर्न खुला थिएन हो ?
–गणतन्त्र आउनुभन्दा अघि कलाकारलाई एउटा स्वतन्त्रता थियो, जुन सत्ताको स्तुतिगानमा चित्र बनाउनका लागि स्वतन्त्रता थियो । त्यो व्यक्तिका लागि होइन सत्ताको स्वार्थका लागि थियो । उनीहरुको अधीनस्थको गुणगानको अर्थमा स्वायत्तता थियो । यो कुरा बना, योभन्दा अरू कुरा गरिस् भने कारबाही गर्छु भन्ने थियो । अहिले गणतन्त्र आइसकेपछि भने हामीलाई त्यस्तो कठोर नीति केही छैन । पहिले राजा महाराजको चित्र बनायो भने पुरस्कार पाउने अवस्था थियो । अहिले प्रधानमन्त्रीको चित्र बनाएर पुरस्कार पाउँछु भन्ने छैन, हुन पनि हुन्न । त्यसकारण यो खालको स्वतन्त्रता छ । अहिले विषय महत्वपूर्ण हुन्छ ।
गणतन्त्रपछि कला क्षेत्रको विकास कसरी भइरहेको छ ?
–राजनीति, साहित्य र सङ्गीतको सापेक्षतामा त ललितकला धेरै पछि नै छौँ । अरू विषय विधाका दृष्टिकोणले त प्रचुर मात्रामा सिर्जना भएको छ । तर प्रगतिवादसँग जोडेर आएका सिर्जना निकै कम छ । कलामा प्रगतिवाद जन्मिन सकेन । जुन सोचेअनुसार प्रगति हुनुपर्ने हो त्यो भने हुन सकेको छैन । गणतान्त्रिक मुलुकमा राज्यले निधारण गरेको समाजवाद उन्मुख राज्य व्यवस्थाको सारमा अडिएर सिर्जना अघि बढाउन आफ्नो तर्फबाट संस्थागत नेतृत्वदायी भूमिका खेल्न जरुरी छ ।
अब प्रदर्शनीको कुरा गरौँ, यसपालि गणतन्त्र दिवसकै दिन पारेर राष्ट्रिय ललितकला प्रदर्शनी २०८० आयोजना गर्नाको कारण के रह्यो ?
–हाम्रो राज्यको राजनीतिक संरचनाले देशको सांस्कृतिक, सामाजिकलगायत अन्य अवयवहरुको निर्धारण गर्छ । राज्य संरचनामा लोकतान्त्रिक गणतन्त्रका रुपमा परिवर्तन भएसँगै साहित्य, संस्कृति परिवर्तनसँगै सामाजिक रुपान्तरण पनि हुनुपर्छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान पनि त्यसैको प्रभावले गठन भएको हो । यदि गणतन्त्र आउँदैनथ्यो भने ललितकला प्रतिष्ठान स्थापना पनि हुने थिएन होला । त्यसैले त्यो ऐतिहासिक महत्त्वको दिन र त्यो बेलाको इतिहासलाई पनि सम्झिनुपर्छ र कला पनि त्यसमा समाहित हुनुपर्छ भनेर कार्यक्रमलाई गणतन्त्र दिवसका दिनमा उद्घाटन गर्ने योजना बनाइएको हो । सामाजिक रुपान्तरण मान्छेको स्वतन्त्रता र कला, संस्कृतिको चेतना परिवर्तनका लागि प्रदर्शनी पनि त्यस दिनलाई सम्झना गरौँ भन्ने हो । यस वर्षदेखि गणतन्त्र दिवसलाई महोत्सव बनाउन प्रदर्शनीलाई पनि त्यही दिन पारेर सुरु गर्न थालिएको हो । पछिल्लो पुस्ताले गणतन्त्र नभुलोस् र त्यो विषयको धारलाई सामाजिक रुपान्तरण गर्न र गणतन्त्रको मूल्य मान्यतालाई आत्मसात् गरोस् भनेर साङ्केतिक आत्मसात् गर्न खोजिएको हो । यसपटक सन्दर्भलाई पछ्याएका छौँ, आगामी वर्षदेखि गणतन्त्रको भावना समेटेर सिर्जनाहरु पनि समावेश हुनेछन् ।
प्रदर्शनीमा के–के विधाहरु समेट्नु भएको छ ?
–ललितकला प्रदर्शनीमा सबैभन्दा धेरै चित्रकला विधा छ । त्यसमा पनि आधुनिक चित्रकलाको सिर्जना छ । शैलीगत रुपमा आधुनिक छन् तर विचारका हिसाबले आधुनिक छैन । त्यसपछि परम्परागत चित्रकलाहरु पनि छन् । थाङ्का, पौभा मण्डला लगायतका छन् । यस्तै, हस्तकलाका पनि छन् । लोककलामा मिथिला, थारू, थिमाल, नेवारी कलाहरुलगायत समावेश छ । वास्तुकलाका मोडेल खास आएन । अन्य भिजुअल आर्ट, मूर्तिहरु छन् । विशेषगरी आधुनिक मूर्तिहरु धेरै छन् । परम्परागत पनि छ । प्रविधि, शैली र सीपका दृष्टिकोणले धेरै छ । त्यसमा युवा पुस्ताका कलाकृतिको ठूलो सहभागिता छ । तर वैचारिक रुपमा हेर्दा पुरानै शैलीका मिश्रित छ । राष्ट्रिय, लैङ्गिक, सांस्कृतिक वर्गीय पर्यावरणका समस्याका विषयहरु धेरै आएका छैनन् । आगामी प्रदर्शनीमा त्यसलाई पनि समेट्ने प्रयोस हुनेछ ।
यसपटक सिर्जनाहरु कति सहभागी हुँदैछ ?
–विगतको वर्ष तीन÷चार सय सिर्जनाहरु थियो । अहिले त्यसको दोब्बर सिर्जनाहरु आएका छन् । विगत एक वर्ष २०७२ मा एक पटक मात्रै ६ सय पुगेको थियो । यसपटक ६ सय १० कलाकारका ६ सय ९७ कलाकृति सहभागी हुनेछ । यो पछिल्लो १२ वर्षमा सबैभन्दा बढी सिर्जना यसपालि आएको हो । यसपालि सङ्ख्याको दृष्टिकोणले धेरै राम्रो सहभागिता हो । अझ बीचमा त्यसलाई हामीले रोकेका हौँ । नत्र हलमा नअटाउने चित्रहरु आउने थियो । आह्वान गरेका भए धेरै आउँथ्यो । मोफसलका धेरै कलाहरु छुटेका छन्, ढुवानी गर्न आर्थिक व्यवस्थापन गर्न सकिएन । यसपालि दुई स्थानमा प्रदर्शनी गर्दैछौँ । नेपाल कला परिषद् बबरमहलमा लोक र परम्परागत कलाको प्रदर्शनी हुन्छ । अरू चित्र, मूति, हस्तकलाको ओसारपसारमा समस्या हुने भएकाले प्रतिष्ठानमै प्रदर्शनी हुनेछ ।
यसपालिको प्रदर्शनीमा विगतभन्दा फरक के पाउन सकिन्छ ?
–‘क’ र ‘ख’ श्रेणीमा राखेर कलामा पिएचडी एमए, विएफए गर्ने कलाकारमध्ये आठ जनालाई प्रदर्शनी हेरेर अनुभूतिका साथ सिर्जना गर्न भनिएको छ । अर्को कुरा सिर्जना गर्नेलाई मात्रै होइन कलाको प्रवर्द्धन गर्नेलाई पनि सम्मान गर्नुपर्छ भनेर केही व्यक्तिलाई सम्मान पनि थपेका छौँ । कलाकारहरु एक पटक पुरस्कार लिएर कता जान्छन्, प्रतिभाहरु हराउँछन् । अब त्यस्तो नहोस् भनेर राष्ट्रिय ललितकला पुरस्कार प्राप्त गरेका कलाकारलाई कलावृत्तिका लागि थप ६० हजार प्रोत्साहन पनि दिन लागेका छौँ । यसका साथै प्रदर्शनीको उत्कृष्ट समाचार लेख्ने पाँचजना पत्रकारलाई पुरस्कृत गरिँदैछ । यसका साथै कला क्षेत्रका व्यक्तिहरु सहभागी गराएर कला सम्मेलन गर्दैछौँ ।
प्रदर्शनीबारे कला पारखीहरुलाई के भन्नुहुन्छ ?
–वास्तवमा ललितकला प्रदर्शनी एउटा अवसर पनि हो । जेठ १५ देखि ३० सम्म सञ्चालन हुने यो कलाको महोत्सव पनि हो । त्यसैले यसले अर्थतन्त्रमा पनि पर्यटकीय उद्यमशीलताका रुपले भूमिका निभाएको हुन्छ । अर्को कुरा देशको राष्ट्रिय पहिचानसँग जोडिने परिपूरक क्षेत्र पनि हो कला । त्यसको पहिचानले पनि राष्ट्रलाई चिनिन्छ । त्यसकारणले विभिन्न मोडलका प्रदर्शनीहरु छन् । चित्रकला, हस्तकला, लोक कलालगायत आ–आफ्नो क्षेत्र, समुदाय र सम्प्रदायको प्रतिनिधित्व गरेर आएका छन् । यो साँच्चै भन्ने हो भने पहिचान, सांस्कृतिक महत्व र त्यसको बिक्री–वितरण र विनिमयको अर्थतन्त्रले पनि महत्व राखेको हुन्छ । एउटा थाङ्काले हजारौँ रुपैयाँ लिनसक्छ । आर्थिक उपार्जनका लागि पहिचान विश्व्यापी जाने भएकाले पनि सहभागिता र प्रचारप्रसारका लागि सबैमा अनुरोध गर्दछु । सामाजिक सद्भाव, भेटघाट, अनभुभव आदानप्रदान, कलाको व्यापार, व्यवसायका लागि पनि प्रदर्शनी सेतु बन्नसक्छ ।