Logo

पशुपतिनाथ मन्दिरमा जलहरी राखेको विषयको छानबिन रोकिँदैन : कांग्रेस प्रमुख सचेतक



काठमाडौं, १४ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक रमेशदत्त लेखकले नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्षी दलको नेतालाई इंगित गरेर बोलेका कुरा रेकर्डबाट हटाइएको बताएका छन् ।
‘संसदमा सांसदलाई पूर्ण वाक् स्वतन्त्रता हुन्छ । यसमा दुबिधा छैन । संसदमा बोलेका कारण कुनै मुद्दा चलाउन पाइँदैन । यस्तो स्वतन्त्रता हुँदाहुँदै पनि यसका केही सीमा छन् । असंसदीय शब्दावलि र घृणास्पद अभिव्यक्ति दिन पाइँदैन । संसदीय मर्यादाभित्र बसेर बोल्नुपर्ने हुन्छ । माननीय दाहालको विगतमा पनि भ्रष्टाचारका घटना भएका थिए भन्ने भावलाई संरक्षण गर्दै प्रतिपक्षी दलको नेतालाई इंगित गरेर बोलेको पशुपतिको सुन हो कि पित्तल हो र ओम्नीको दुई अर्ब रुपियाँ भ्रष्टाचार भएको भन्ने अंश हटेको हो । सबै कुरा अध्ययन अनुसन्धान नभईकन त्यसलाई त्यो कसरी किटानी गर्ने ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
प्रमुख सचेतक लेखकले संसदको रेकर्डबाट हटे पनि पशुपतिनाथ मन्दिरमा जलहरी राखेको विषयको अनुसन्धान नरोकिने स्पष्ट पारे । उनले भने, एयो विषय पशुपति क्षेत्रविकास कोषको क्षेत्राधिकारमा पर्छ । यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ । सर्वोच्च अदालतमा मुद्दा पनि छ । त्यसैले यसमा तीन दल मिलेर छानबिन रोक्न मिल्दैन, रोकिँदैन ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जेठ १७ देखि हुने भारत भ्रमण नेपालको हितमा फलदायी हुने विश्वास पनि लेखकले व्यक्त गरे । उनले भने, ‘जहाँ सम्बन्ध ज्यादा हुन्छ, त्यहाँ समस्या पनि हुन्छ । भ्रमणमा आर्थिक विकास, व्यापार, विकास साझेदारी, पञ्चेश्वरलगायतका ठूला परियोजना, विद्युत् खरिद, हवाई रुटका विषय उठ्न सक्छन् ।’ साथै उनले दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने सम्झौता भए सुदूरपश्चिमतर्फ विकासको ढोका खुल्ने बताए ।



प्रतिक्रिया दिनुहोस्