Logo

प्रधानमन्त्री दाहालको भारत भ्रमणको दल सानो बनाउने तयारी



काठमाडौं, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा भ्रमण दल सानो हुने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री दाहालको भारत भ्रमणको बारेमा छलफल भएको थियो । सो बैठकमा सकेसम्म भ्रमण दल सानो बनाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

सरकारकी प्रवक्ता रेखा शर्माले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा को को सहभागी हुने भन्नेबारे भोलि निर्णय हुने जानकारी दिईन् । उनले भनिन–‘विषयहरू मन्त्रालयहरूले तयारी गररहेका छन् । अन्तिम चरणमा पुगिसकेको छ । ऊर्जासँगै सीमा समस्याको कुरा पनि छन् । ती विषयमा छलफल भइरहेका छन् औपचारिक निर्णय भइसकेको छैन । जुन–जुन क्षेत्रसँग सम्झौता हुन्छ त्यो क्षेत्रका मन्त्री वा सचिव जानुहुन्छ । यो प्रतिनिधि मण्डललाई ठुलो नबनाउने भन्नेछ । आवश्यक पर्नेहरू मात्रै जानुहुन्छ ।’

भ्रमणका एजेण्डा मन्त्रालयहरुले तयारी गरिरहेको मन्त्री शर्माको भनाई छ । उनले थपिन्–‘त्यो अन्तिम चरणमा पुगिसकेको छ । ऊर्जासँगै सीमा समस्याका कुरा पनि छन्, ती विषयमा छलफल भइरहेको छ, औपचारिक निर्णय भने भएको छैन ।
यस्तै, आजको बैठकले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । बैठकले नेता चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय गरेको हो ।
मन्त्री शर्माले मन्त्रिपरिषद् निर्णयबारे जानकारी दिँदै गणतन्त्र दिवसका अवसरमा नेता चौधरीको बाँकी सजाय मिनाहासँगै आममाफी दिन सिफारिस गरिएको बताईन्। “सोमबार गणतन्त्र दिवस छ, गणतन्त्र दिवसका सन्दर्भमा केही कैदीको बाँकी सजाय माफी गर्ने र ५० प्रतिशत सजाय काटिसकेकाको हकमा जुन निर्णय गर्ने प्रचलन छ, त्यसका निम्ति निर्णय भएको छ, मुख्य निर्णय रेशम चौधरीको निवेदनका आधारमा र राष्ट्रपति कार्यालयले सोधिएका केही विषयलाई पनि सम्बोधन गरेर राष्ट्रपति कार्यालयमा सिफारिस गर्ने भन्ने आजको निर्णय छ”, उनले भनिन् ।
सरकारको सिफारिसअनुसार राष्ट्रपति कार्यालयले निर्णय गरेका खण्डमा नेता चौधरी सोमबार गणतन्त्र दिवसका अवसरमा जेलमुक्त हुनेछन् । विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुनेगरी भएको हिंसात्मक घटनाका आरोपित चौधरी जेल चलान भएका थिए। उनलाई जिल्ला अदालत कैलाली, उच्च अदालत दिपायल र सर्वोच्च अदालत समेतले जन्मकैदको सजाय सुनाएका हुन् ।

File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्