काठमाडौं, १८ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (इपिजी) ले तयार पारेको प्रतिवेदनलाई महत्व नदिने भएका छन् । दुवै देशका प्रतिनिधिहरु सम्मिलित भएर गठन भएको इपिजीले तयार पारेको प्रतिवेदन लामो समयदेखि भारतीय पक्षले बेवास्ता गरेको छ । दुई देशबीचका समस्या समाधानको लागि इपिजीले प्रतिवेदन तयार पारेको छ ।
भारतीय प्रधानमन्त्री मोदीले भने इपिजीको प्रतिवेदन नबुझ्ने मात्रै होईन अब यसको काम नै नभएको तर्क गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आजको भेटमा मोदीसँग इपिजीको प्रतिवेदनबारे चासो राखेको बुझिएको छ ।तर, मोदीले भने यसप्रति कुनै चासो नदेखाएको बरु बेवास्ता गरेको स्रोतको दाबी छ । मोदीले घुमाउरो तरिकाले इपिजीको प्रतिवेदन नबुझ्ने जवाफ दिएका छन् ।
नेपालबाट भारत उड्नुअघि प्रधानमन्त्री दाहाललाई इपिजीको प्रतिवेदन कार्यान्वयनको लागि जोड दिईएको थियो । प्रधानमन्त्री दाहालकै सहयोद्धा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि इपिजीको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र यथाशिघ्र कार्यान्वयनमा लैजान सक्नुपर्नेमा जोड दिएका थिए । उनले प्रधानमन्त्री दाहाललाई सार्वजनिक रुपमै इपिजीको प्रतिवेदन कार्यान्वयनको लागि जोड दिन सुझाव दिएका थिए ।