कास्की, जेठ २१ । कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।
आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको हो ।
आयोजना माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा बनिरहेको छ । विक्रम संवत् २०७७ भदौदेखि विद्युत् आयोजना निर्माण शुरू भएको थियो ।
आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन (प्रसारण लाइन) निर्माण तर्फका सबै काम अन्तिम चरणमा पुगेका भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए ।
उनका अनुसार ढिलोमा पनि आगामी मंसिर भित्रमा आयोजना सम्पन्न भएर व्यावसायिक रूपमा विद्युत् उत्पादन हुनेछ । स्थानीय, स्थानीय सरकार र प्रशासनको सहयोगबाट नै आयोजना तोकिएको समयमा सम्पन्न हुन लागेको अध्यक्ष पोखरेलले बताए ।
उनले भने, ‘जलविद्युत्मा २५ मेगावाट सानो परियोजना होइन । धेरै मानिस जोडिनुभएको छ । १ हजार ५०० जना प्रवद्र्धकको लगानी छ, शुरूआती लागत बढेको छैन । पारदर्शी रूपमा समयमै आयोजना पूरा गर्न अहोरात्र खटिएका छौं, छिट्टै सफलता मिल्नेमा आशावादी छौं ।’
सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी ६ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ । पाइपमार्फत लगिएको पानी पावर हाउसमा रहने १२ दशमलव ५ मेगावाट क्षमताका २ वटा टर्वाइनमा खसालिने छ । सो आयोजना नदी जलप्रवाहमा आधारित छ ।
कोरोना कहरबीच शुरू भएको आयोजनामा शुरूआती चरणमा काममा असर पुगेकाले १ वर्ष म्याद थप भएको अध्यक्ष पोखरेलले बताए । आयोजनाको म्याद विक्रम संवत् २०८१ साउनसम्म रहेको छ । उनले भने, ‘कोरोनाले काममा असर गर्दा १ वर्ष म्याद थप गर्नुपरेको हो । स्थानीय सरकार, स्थानीय तथा सबैको साथ सहयोगले आयोजना सम्पन्न हुने चरणमा छ । अबको ५ महिना भित्रमा आयोजना सम्पन्न भएर विद्युत् उत्पादन हुनेछ ।’
सेती जलविद्युत् आयोजनामा ५ अर्ब लगानी रहेको छ । यसमा ३ अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवद्र्धक, स्थानीय तथा आईपीओ जारी गरेर पूरा गरिने आयोजनाले जनाएको छ ।