Logo

दार्जीलिङको गोर्खाल्यान्ड र नेपालको बोर्डिङ स्कूल



— शिशिर शर्मा—

चौबीसै घण्टा अनुशासित र समयबद्ध भएर बस्ने आवासीय स्थललाई बोर्डिङको संज्ञा दिइन्छ। तथापि  धेरैजसो हामीले बोर्डिङ भनेको अंग्रेजी तथा निजी स्कूल हो भनेर बुझ्ने गरेका छौं। तथापि बोर्डिङ भनेको इङ्लिस मिडियम स्कूललाई भनिएको होइन। बोर्डिङ भन्ने शब्द नै आवासीय बस्तुलाई भनिने  कुरा हो। तर, शिक्षाजस्तो संवेदनशील विषयलाई राष्ट्रले नै यस्तो खेलवाड़ गरिरहेको अवस्था छ, जसले गर्दा हामी अंग्रेजी स्कूल मात्रै बोर्डिङ स्कूल हो भनेर बुझेका छौं।

दार्जीलिङ पहाड़को नेपाली जमातले गोर्खाल्यान्ड भनेर होमिएको देख्दा म आफै अचम्मित हुन्छु। उक्त बोर्डिङको शब्दलाई जसरी नेपालमा परिचालन गरिएको छ, त्यसरी नै गोर्खाल्यान्डको शब्दलाई  नबुझीकन ‘गोर्खा’ शब्द प्रयोग गरी सम्पूर्ण नेपाली जमातको मुद्दालाई नै भड़खालोमा हाल्ने कार्य गरिरहेको छ।

गोर्खा शब्द के हो ? गोर्खा शब्द नै विवादित शब्द हो, जुन चाहिँ भारतमा नयाँ राज्य निर्माणको निम्ति ठूलो बाधा हो। गोरखा वर्तमान नेपालका ७७ मध्ये एक जिल्ला हो। गोरखा जिल्ला नेपाल र नेपाली इतिहासको केन्द्रविन्दु पनि हो। इतिहासलाई फर्केर हेर्ने हो भने पृथ्वीनारायण शाह गोरखा राज्यको राजा थिए। गोरखा राज्य र त्यहाँका राजा पृथ्वीनारायण शाहले नै सम्पूर्ण नेपाललाई एकीकरण गरेको इतिहास साक्षी छ।

गोर्खा राज्यको इतिहास ठूलो छ। सन् 1771 देखि 1774 सम्म गोर्खा र लिम्बुहरूको युद्ध भएको हामी इतिहासमा पढ्न पाउँछौं। नेपालको इतिहासमा काठमाडौं उपत्यकालाई नेपाल भनेर चिनिने गरिन्थ्यो। पृथ्वीनारायण शाहले छोटो अवधिमै तत्कालीन नेपाल तथा वर्तमान काठमाडौंमाथि विजय प्राप्त गरेका थिए।

तत्कालीन भारतवर्षमा अंग्रेजको हुकुमत सुरू हुँदै थियो। अंग्रेजहरूले कुनै जग्गा युद्ध गरेर तथा कुनै जग्गा सन्धि गरेर अधिकांश भारतका राज्यहरूलाई आफ्नो अधीनमा ल्याइरहेका थिए। सोही कालमा नेपाल राष्ट्र समृद्ध र क्षमतावान् राष्ट्रका रूपमा विकसित हुँदै गइरहेको थियो। सोही समयमा अंग्रेजको इष्ट इन्डिया कम्पनी सरकारले सन् 1813 मा नेपालसँग पनि सन्धि गरेको थियो।

त्यसताका अधिकांश सन्धि ब्रिटिस सरकारकै पक्षमा हुने गर्दथ्यो। ब्रिटिस सरकार र नेपालको सेनाबीच संघर्ष हुँदा परिणामबिना नै युद्ध सकिएको थियो। सुगौली सन्धिको रूपमा चिनिने सोही सन्धिलाई वर्तमान भारतले 1950 मा आएर हल्का संशोधन गरी पुनः परिचालन गरेको छ। जसलाई नै वर्तमान भारत र नेपालले पनि मान्य गरेर सञ्चालन गरिरहेको छ।

गोर्खाको वीरताको इतिहास कमजोर बनाउनका निम्ति त्यसताकको अंग्रेज हुकुमतले 24 अप्रेल 1815 मा पहिलोचोटि गोर्खा पल्टनको भर्ना सुरू गरेको थियो। गोर्खा सेनालाई फौजमा लिनुको मुख्य कारण नेपालको सेना शक्तिलाई कमजोर गरिनु थियो। तर, 1947 सालमा भारत स्वाधीनता प्राप्त गरी सोही समय सम्पूर्ण सेनालाई भारत सरकारसमक्ष हस्तान्तरण गरेर ब्रिटिसहरू फर्किए । तर, गोर्खा रेजिमेन्ट चाहिँ यिनीहरूले आफूसँग नै लिएर गए। अहिले आएर फेरि चीनले पनि गोर्खा पल्टनको नयाँ बटालियन सुरू गर्ने कुरा हल्लामा आइरहेको सुनिँदै छ। त्यसो भएको खण्डमा भारतीय नेपालीहरूको गोर्खा पहिचानको कुरा के हुनेछ? चाइनामा खोलिएको गोर्खा रेजिमेन्टलाई कसरी हेर्ने छौं त हामीले? यसो भएको खण्डमा गोर्खाको पहिचान कतातिर पुग्नेछ होला?

यसले भारतीय नेपालीहरूको पहिचानमा ठूलो धक्का पुर्‍याउने पक्का छ। यसले यो स्पष्ट हुन्छ कि गोर्खा शब्दको सदुपयोग नेपाल राष्ट्रले मात्रै गर्न सक्छ। भारतीय नेपालीहरूको गोर्खा शब्दमाथि कुनै अधिकार नरहेको प्रमाण अब स्पष्ट भइसकेको छ।

गोर्खा शब्दले भारतीय नेपालीहरूको पहिचान दिँदो हो भने चाइनालाई यो शब्द प्रयोग गर्नअघि नै रोक लगाउन सक्नुपर्थ्यो। सो कुनै पनि हालतमा हुनै सक्दैन र यसो गर्न भारतेली नेपालीहरूले सक्ने छैन। गोर्खा शब्दमाथि नेपालको मात्रै नियन्त्रण छ, र यसले त्यहींको पहिचान बुझाइरहेको हामी देख्न सक्छौं। जसरी बोर्डिङ स्कूल भनी इङ्लिस स्कूल भनेर हामी बलजफ्ती बुझिरहेका छौं, सोही गरी गोर्खा भनेको भारतेली नेपाली भनेर जबर्जस्ती बुझाउन खोजिरहेको भान मलाई भइरहेको छ।

नेपाली जमातको इतिहास संरक्षण नगर्ने बानीले गर्दा सम्पूर्ण नेपालीको गरिमा नै भड़खालोमा हाल्ने काम भइरहेको छ। जसरी नेपालको गोरखामा रहेको पृथ्वीनारायण शाहको प्रमुख धाम गोरखधामको परिचालन हुन नसक्दा मुख्यमन्त्री योगी आदित्यनाथले उत्तर प्रदेशमा नै स्थापना गरेर बडो सुन्दर ढंगले परिचालन गरिरहेको छ। जसको कारण नै गोरखधामलाई गोर्खाबाट विलीन गराउने अवस्थामा पुर्‍याएको छ।

गोर्खा शब्द नेपालको गरिमामय शब्द हो, त्यसलाई नेपाल राष्ट्रले दुरूपयोग गरिरहेको छ र हामी भारतका नेपालीहरू चाहिँ त्यही भर्‍याङमार्फत जबर्जस्ती उक्लिएर पहिचान माग्ने कोसिस गरिरहेका छौं। तर, भावी पिँढी यति कुरामा स्पष्ट हुनु जरूरी छ कि यो गोर्खा शब्दले भारतेली नेपालीहरूको पहिचानको संकटलाई कदापि पार लगाउन सक्ने छैन। यसले हाम्रो मुद्दालाई बरू अझै जटिल बनाइदिनेछ।

कालेबुङ, भारत

 



प्रतिक्रिया दिनुहोस्