Logo

रामेछाप कांग्रेसको विवाद सतहमा,कान्छारामको कार्यशैली सूधारको माग गर्दै देउवालाई बुझाए ११ बुँदे ध्यानाकर्षण



काठमाडौं,२८ जेठ । नेपाली कांग्रेस रामेछापको विवाद सतहमा आइपुगेको छ । जिल्ला सभापति एवं प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम)को कार्यशैली चित्तबुझ्दो नभएको भन्दै पूर्व जिल्ला सभापति लगाएत ४६ जना नेताहरुले पार्टी सभापति शेरबहादर देउवालाई ११ बुँदे ध्यानाकर्षण बुझाउन्दै जिल्ला सभापति तामाङको कार्यशैली सूधारको माग गरेका छन् ।

जिल्ला सभापति तामाङले पार्टीलाइृ विधि विधान भन्दा बाहिर गएर चलाएको र आफुखुसी जेठ ३१ गते जिल्ला सम्मेलन गर्ने सूचना सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भन्दै यस्तो कार्य रोक्न माग गर्दै सभापति देउवालाई आग्रह गर्दै ध्यानाकर्षण बुझाएका हुन् ।

यसरी ध्यानाकर्षण बुझाउने हरुमा पूर्व जिल्ला सभापति रामचन्द्र खड्का,वर्तमान जिल्ला सचिव विनोद कार्की,महाधिवेशन प्रतिनिधिहरु भरत चौंलागाई,युवराज भट्टराई,विनिता खड्का मिना कार्की,कुमारी हायू लगायत ४६ जना जिल्ला नेताहरु रहेका छन् ।

पार्टी सभापतिलाई बुझाएको ध्यानाकर्षणमा गत स्थानीय तह निर्वाचनमा आर्थिक चलखेल गरि आफुखुसी टिकट वितरण गरेको, केन्द्रको निर्देशन अवज्ञा गरेको पार्टीमा फरक मत राख्नेलाई स्पष्टीकरणसमेत पेस गर्ने मौका नदिई पार्टीबाट निष्कासन गरेको लगायतका आरोप लगाएका छन् ।

उनीहरुले जिल्लाको विकास निर्माणका लागि बजेट बिनियोजन गर्ने र गराउने कार्यमा पार्टीका कुनै निकाय र नेताहरु सँग छलफल नगरेको बताएका छन्। प्रतिनिधि सभाका सांसद कान्छारामले आफ्ना कम्पनीमार्फत ठेक्का लिएका आयोजना वर्षौ बितिसक्दा पनि योजना अलपत्र पारेको पत्रमा उल्लेख छ।

देउवालाई लेखिएको पत्रमा भनिएको छ, ‘नेपाली कांग्रेसको वर्तमानपार्टी सभापति कान्छाराम तामाङ्ग (पुर्ण बहादुर) ठेकेदार पनि भएको र निजले आफ्नो कम्पनीमार्फत पुल, सडक लगाएत जिल्लाका विकास निर्माणको ठेक्का लिइ वर्षौ बितिसक्दा पनि योजना अलपत्र पारिएको अवस्थामा छन् । उक्त अलपत्र योजनाहरुलाई अघि सारेर अन्य पार्टीका मान्छेहरुले प्रश्न गर्दा नेपाली काङ्ग्रेस निरुत्तर भइ पार्टीको शाख बचाउन कठिन भएको छ।’

पार्टी सभापतिलाई ध्यानाकर्षण बुझाउने नेताहरुले अवैधानिक रुपमा जेठ ३१ गतेका लागि डाकिएको जिल्ला भेलामा यथास्थितीमा सहभागी हुन नसकिने पनि स्प्रष्ट पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्