Logo

ज्ञानेन्द्र शाहीले प्रचण्डको राजीनामा मागेपछि माओवादी सांसद सापकोटाले भने : प्रधानमन्त्रीको हुर्मत लिनु भनेको राष्ट्रको हुर्मत लिनु हो



काठमाडौं,२८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजिनामा मागेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नियमापत्ति जनाउँदै उनको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बजेटमाथि आफ्नो धारणा राख्ने क्रममा सांसद शाहीले प्रधानमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युद्ध अपराध जस्तो गम्भीर मुद्दा दर्ता भएको भन्दै नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका थिए ।

‘प्रतिनिधि सभा नियमावली २०६९ को नियम ३६ अन्तर्गत सम्माननीय प्रधानमन्त्रीज्यु यो संसदको सदस्य पनि हो । तर आज सम्माननीय प्रधानमन्त्रीज्युको बिरुद्धमा सम्मानित सर्वोच्च अदालतमा युद्ध अपराध जस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको छ, र सर्वोच्च अदालतले ३० गते सम्माननीय प्रधानमन्त्रीज्युलाई अदालतमा हाजिर हुन भनेर पर्चा काटिसकेको छ,’ उनले भने, ‘म सम्माननीय सभामुखमार्फत सोध्न चाहन्छु, यो ३० गते प्रधानमन्त्रीज्यु अदालतमा जाँदै गर्दा यो देशको प्रधानमन्त्री भएर जानुहुन्छ कि, पुष्पकमल दाहाल प्रचण्ड भएर जानुहुन्छ ? युद्ध अपराधको मुद्दामा अदालतमा जाने कुरा। यो देशले अपराध गरेको होइन ?,’उनले भने,‘व्यक्तिले गरेको हो ? त्यो भएर, म सम्मानीय सभामुखमार्फत् सम्माननीय प्रधानमन्त्रीज्यूले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ नैतिकताका आधारमा पनि पदमा बसिरहन मिल्दैन । ’

राप्रपा सांसद शाहीको यस्तो अभिव्यक्ति आएपछि सभामुख देवराज घिमिरेसँग विशेष समय लिएर बोलेका माओवादी केन्द्रका सांसद सापकोटाले प्रधानमन्त्रीको हुर्मत लिनु भनेको राष्ट्रकै हुर्मत लिनु भएको भन्दै शाहीको अभिव्यक्तिको निन्दा गर्दै उक्त अभिव्यक्ति सदनबाट हटाउन माग गरेका थिए ।‘उहाँले हाम्रो नियमावलीको कुन धारा आकर्षित गरी यी कुराहरू राख्नुभयो। उहाँले प्रधानमन्त्रीलाई एकोहोरो गैरराजनीतिक तरिकाका साथ लखेटिरहनुभएको छ। प्रधानमन्त्रीको हुर्मत लिनु भनेको राष्ट्रको हुर्मत लिनु हो। उहाँले बोलेको कुरा रेकर्डबाट हटाइयो,’उनले माग गरे।

सांसद सापकोटाको आग्रहप्रति ध्यानाकर्षण भएको बताएपनि सभामुख घिमिरेले उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन आदेश भने दिएनन् ।



प्रतिक्रिया दिनुहोस्