Logo

मनसुनबाट साढे १२ लाख प्रभावित हुने अनुमान



काठमाडौं, जेठ २९ । यही जेठको अन्तिममा सुरु भएर करिब एक सय दिन क्रियाशील यस वर्षको मनसुनबाट करिब साढे १२ लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ। गृह मन्त्रालयमा आइतबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा दिइएको जानकारी अनुसार मनसुनबाट प्रभावित हुन सक्ने जनसङ्ख्या १२ लाख ५४ हजार १८१ र घरधुरी दुई लाख ८६ हजार ९९८ रहने छन्।

मनसुनबाट हुन सक्ने सम्भावित क्षति रोकथाम र न्यूनीकरणका लागि बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८० स्वीकृत गरेको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको समितिको १८ औँ बैठकले कार्ययोजना स्वीकृत गरेको हो।

उक्त कार्ययोजनामा मनसुनजन्य जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आकलन गरी विभिन्न मन्त्रालय तथा विषयगत क्षेत्र, निजी क्षेत्र, सरकारी तथा गैरसरकारी संस्थाहरूको जिम्मेवारी तोकिनुका साथै खोज, उद्धार तथा राहत सामग्रीहरूको मौज्दातीको विवरण समेटिएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले उपलब्ध साधन स्रोतको अधिकतम उपयोग एवं परिचालन गरी विपत् जोखिम न्यूनीकरण गर्नतिर ध्यान दिन र विगत वर्षहरूका कमजोरी तथा असावधानी पुनरावृत्ति हुन नदिई कार्ययोजनाको ठोस कार्यान्वयन गर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिए।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले व्यवस्थित कार्ययोजना बनाउँदा नागरिकको तहबाट पनि सहयोग हुने अनुभव सुनाउँदै कार्ययोजना कार्यान्वयनमा सव्रिmयताका साथ सहयोग गर्ने प्रतिबद्धता जनाए।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यस वर्षको मनुसनबाट साढे १२ लाख नागरिक प्रभावित हुने अनुमान प्रस्तुत गर्दै प्राधिकरणबाट मनसुनजन्य विपत्का लागि गरिएका थप तयारीबारे जानकारी गराए। पोखरेलले पूर्वसूचना तथा पूर्वकार्यका लागि देशका ३४ स्थानमा स्मार्ट साइरन जडान, विपत् सामूहिक उद्धार सवारी तथा ‘ए क्लास’ एम्बुलेन्सहरू खरिद गरी सात वटै प्रदेश र काठमाडौँ उपत्यकामा एकरएक वटा रहने व्यवस्था मिलाइएको जानकारी दिए।

त्यसै गरी भण्डारण गरिएका आपत्कालीन उपकरण र सामग्रीको जानकारी उपलब्ध हुने ‘गोदाम’ स्रोत व्यवस्थापन प्रणाली र खोज तथा उद्धारमा संलग्न हुने स्वयंसेवकहरूको विवरण उपलब्ध हुने स्वयंसेवक व्यवस्थापन प्रणालीबारे पनि उल्लेख गरे। खोज, उद्धार तथा राहत वितरणका लागि हालसम्म एक लाख ४२२ जना स्वयंसेवक सूचीकृत भइसकेको गृह मन्त्रालयले जनाएको छ।

राष्ट्रिय कार्ययोजनामा सङ्घीय मन्त्रालय तथा निकायहरू र केन्द्रीय विषयगत क्षेत्रको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, जिम्मेवार मन्त्रालय तथा विभागहरू र सुरक्षा निकायहरूको जिम्मेवारीका साथै आपत्कालीन अवस्थामा विषयगत क्षेत्रको सम्पर्क विवरणहरू पनि उल्लेख गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशैभरि कम पानी पर्ने प्रक्षेपण गरेको छ। सरदरभन्दा कम पानी पर्ने भएकाले न्यूनतम तापक्रम विगतको भन्दा बढी हुने अनुमान पनि गरिएको छ। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्