काठमाडौं, जेठ ३१ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रदेश सरकारलाई अस्थिरता जानबाट रोक्न आग्रह गरेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुमा स्ट्याटस लेख्दै महासचिव पोखरेलले सात वटा प्रदेशहरूलाई अस्थिरतातर्फ जानबाट रोक्न आग्रह गरेका हुन्।
उनले मधेस प्रदेशमा जसपाका मुख्यमन्त्रीलाई विश्वासको मत दिएर एमालेले रचनात्मक भूमिका निर्वाह गरेको उल्लेख गर्दै बाँकी प्रदेशमा पनि यस्तै गर्न आग्रह गरेका हुन्।
‘जसपा नेतृत्वको मधेस प्रदेश सरकारले प्रतिपक्ष दल नेकपा (एमाले)समेतको विश्वासको मत प्राप्त गरेको छ। राजनीतिक अस्थिरताका विरूद्धमा नेकपा एमालेले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएर बाँकी प्रदेशलाई पनि अस्थिरता तर्फ जानबाट रोक्न अन्य दलहरूले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको छ,’ उनले भनेका छन्।
महासचिव पोखरेलले राष्ट्रको विकासका लागि राजनीतिक अस्थिरता गम्भीर चुनौती बन्न पुगेको समेत जनाएका छन् । ‘यति वेलाको मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न पुगेको छ ।’ उल्लेख गरेका छन् ।