Logo

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणको तर्फबाट दोस्रो दिनको बहस सुरू



काठमाडौं,३१ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा प्रहरी हिरासतमा रहेका प्रतिवादीहरुको तर्फबाट काठमाडौं जिल्ला अदालतमा प्रतिरक्षा बहस जारी रहेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा १० दिनदेखि जारी रहेको बहसमा आज पनि नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट प्रतिरक्ष बहस सुरु भएको छ ।

खाँणको तर्फबाट हिजोबाट बहस सुरु भएपति हिजो नसकिएपछि आज पनि बहस सुरु भएको हो । आज खाँणको तर्फबाट पूर्व महान्यायाधिवक्ताद्धय रमण श्रेष्ठ र खम्बबहादुर खाती तथा अन्य अधिवक्ताहरुले बहस गर्नेछन् ।

मंगलबार पूर्वगृहमन्त्री खाणका तर्फबाट कानुन व्यवसायीहरू शेरबहादुर केसी, हरिहर दाहाल,महादेव यादव,प्रेमबहादुर खड्का,पंकज कर्ण,लक्ष्मी थापा खड्का, यज्ञराज पोखरेल,अजय झा,नृसिंहकुमार खत्री र मणिराम उपाध्यायले बहस गरेका थिए ।

यस प्रकरणमा प्रहरीको हिरासतमा रहेका १८ जना प्रतिवादीहरुको तर्फबाट हुने प्रतिरक्षा बहस अन्तिम चरणमा पुगेको छ ।

हिजो सम्ममा प्रतिवादीहरुको तर्फबाट बहस सकेर आज फैसला सुनाउने न्यायाधीश प्रेमप्रसाद न्यौपानेको तयारी थियो तर बहस केही लम्बियपछि आज फैसला हुने सम्भावना न्यून रहेको छ ।



प्रतिक्रिया दिनुहोस्