Logo

‘संसदीय सुनुवाइ समिति वैध छैन भने उजुरी किन हालेको त ?’



काठमाडौं, ३२ जेठ । प्रतिनिधिसभामा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि उजुरी गर्नेहरु अराजक रुपमा प्रस्तुत भएको आरोप लगाएका छन् ।
‘संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि कतिपय बेनामे उजुरी परेका छन् । कतिपय आफ्ना उजुरीका बारेमा भन्नेभन्दा पनि अराजक रुपमा प्रस्तुत भएका छन् । आएका उजुरी तथ्य र वस्तुपरकभन्दा पनि गाली गलौज प्रेरित छन् । हामी त्यसमा गम्भीर भएका छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
गिरीले संसदीय सुनुवाइ समितिका बहस परिणाममुखी नभएको टिप्पणी गरे । उनले भने, ‘हामीले बहसलाई परिणाममुखी बनाउनुपर्छ । जुन जुन विषय गम्भीर ढंगले आएका छन्, तिनलाई पर्याप्त समय दिएर छलफल गर्ने हो । न्यायाधीश श्रीकृष्ण भट्टराईलाई पनि हामीले आफ्ना कुरा राख्न समय मिलाएका थियौं । तर उहाँ उजुरीको विषयवस्तुमा केन्द्रित हुन चाहनुभएन । त्यो उजुरी उहाँको पदीय मर्यादा अनुकूल हो कि होइन भन्ने प्रश्न पनि उठेका छन् ।’
उनले संसदीय सुनुवाइ समिति अवैध हुन नसक्ने जिकिर पनि गरे । गिरीले थपे, ‘संसदीय सुनुवाइ समिति संविधान बमोजिम संसदबाट बनेको हो । यो कसरी अवैध हुन सक्छ ? समिति नै वैध छैन भने उजुरी किन हालेको त ? पायक पर्ने कुरा मात्र गर्ने ?’
पूर्वमन्त्रीसमेत रहेका गिरीले वर्तमान सरकार नागरिकप्रति हदैसम्म अनुत्तरदायी भएको आरोप लगाए । उनले भने, ‘इतिहासमै यस्तो अनुत्तरदायी सरकार बनेको थिएन । देशको आधा बजेट चारवटा जिल्लामा हाल्ने भन्ने पनि हुन्छ ? आफ्नै देशका नागरिकप्रति यति धेरै विभेद गर्ने ? कतै बजेटको नदी नै हाल्ने, कतै एक थोपा पनि नदिने ? त्यसको एउटा उदाहरण मेरै पर्वत जिल्ला हो । कतिपय जिल्लामा एउटा पनि योजना छैनन् । एमालेले जितेको जिल्लामा पैसै हाल्दिन भन्न मिल्छ ?’

 



प्रतिक्रिया दिनुहोस्