Logo

समाजवादी मोर्चा गैंडा चटाइ माया हो, छालै खल्यातखुलुत होला : एमाले सचेतक



काठमाडौं, १ असार । प्रतिनिधिसभामा नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारका कारण संसदप्रति नै जनतामा वितृष्णा जाग्ने अवस्था आएको बताएका छन् ।
‘नयाँ बजेट मुलुकको संकटमोचन गर्ने हिसाबले आएको छैन । यो निकै असन्तुलित र अव्यावहारिक छ । यसमा तीनजना नेता वा केही मन्त्रीको अनुहार बाहेक अरु देखिएन । त्यसैले हामीले यो रि-राइट गर्नुपर्छ भन्यौं । जनताको तर्फबाट भारी प्रश्न गर् यौ । तर त्यसमा पुछनी हुने देखिँदैन । सरकारले संसदलाई बेवास्ता गर्न खोज्यो । सरकारकै कारण संसदप्रति नै वितृष्णा हुने अवस्था आयो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
सरकारकै बेवास्ताका कारण संसदमा सांसदको संख्या पातलो भएको आरोप सचेतक बर्तौलाले लगाए । उनले भने, ‘म हरेक बेलुकी संसदमा हेर्छु, जम्मा २०-२५ जना सांसद हुन्छन् । सत्तापक्षका त तीनचारजना पनि हुँदैनन् । मन्त्रीहरु हाई काढेर बसेका छन् । सब नाटक भइरहेको छ । प्रचण्डले गोरखामा जस्तै मैले पनि मकवानपुरबाट जितेको हो नि । राज्यको स्रोत साधन सीमित नेताको जिल्लामा मात्र पुर् याउने हो अरु सांसदको औचित्य के ? यो सरकार कसको खुसीका लागि काम गरिरहेको छ ?’
अर्को प्रसंगमा बर्तौलाले समाजवादी मोर्चा गैंडा चटाइ मायामा बदलिने दाबी गरे । उनले भने, ‘समाजवादी मोर्चाका निम्ति मेरो शुभकामना छ । तर आफूलाई सत्तामा टिक्न गाह्रो हुन थाल्यो भन्नेबित्तिकै बार्गेनिङ टुल्सका निम्ति मोर्चा बनाउनुको अर्थ के ? भोलि यो गैंडा चटाइ माया हुनसक्छ । गैंडाले माया गर् यो भने छाला त खल्यातखुलुत जान्छ नि ।’

प्रस्तावित प्रधानन्यायाधीशसँग सांसदको सवालजवाफ राम्रो परिणाम निकाल्नका लागि भएको दाबी पनि बर्तौलाले गरे । उनले भने, ‘संसदीय सुनुवाइलाई न्यायमूर्तिको हुर्मत लिने घटनाको रुपमा बुझ्नु भएन । न्यायालयको स्वतन्त्रता र नागरिकको भरोसा बढाउने विषयमा सवालजवाफ हुनु त लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष हो नि । सुनुवाइ समितिले संवैधानिक व्यवस्था बमोजिमको क्षेत्राधिकारमा रहेर काम गरिरहेको छ ।’



प्रतिक्रिया दिनुहोस्