Logo

आज मध्य तथा पश्चिम तराईमा अत्याधिक गर्मी, कोशी-गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना



काठमाडौं, असार ३। हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, गण्डकी, कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुनुका साथै देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो कोशी प्रदेशमा सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति भने कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहनेछ।

देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्याधिक गर्मी हुने सम्भावना यथावत् देखिन्छ।

 



प्रतिक्रिया दिनुहोस्