Logo

संघभित्र विवाद समाधान भएपछि एनआरएनए प्रतिनिधिले भेटे परराष्ट्रमन्त्री साउद



काठमाडौं, ३ असार । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री एन.पी साउदसँग भेट गरेको छ । भेटमा संघका कार्यकारी अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली संघ र १०औँ महाधिवेशनपछि असन्तुष्ट पक्षबीच भएको एकताको सहमतिबारे जानकारी गराएका थिए ।

उक्त अवसरमा परराष्ट्रमन्त्री साउदले एकताको सहमति अत्यन्तै सकारात्मक भएको भन्दै खुशी व्यक्त गरे । मन्त्री साउदले मेलमिलाप नै उत्तम विकल्प भएकोले आगामी दिनमा विगतका नजिर नदोहोर्याउन संघको विधानलाई अक्षरशः पालना गर्न आग्रह समेत गरे ।

सोही अवसरमा कार्यकारी अध्यक्ष डा केसीले आगामी अक्टोबरमा हुन लागेको गैरआवासीय नेपाली विश्व सम्मेलन आयोजनाका लागि सदाझैँ परराष्ट्रमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गर्न आग्रह गरे । सोही अवसरमा कार्यकारी अध्यक्ष डा. केसीले विश्व सम्मेलनकै अवसरमा आयोजना हुने तेस्रो विज्ञ सम्मेलन तथा पहिलो युवा सम्मेलन नेपाल सरकारकै सहकार्यमा गर्न समेत मन्त्री साउदलाई अनुरोध गरे ।

भेटमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संघका कार्यकारी अध्यक्ष डा बद्री केसी, उपाध्यक्ष आर के शर्मा, महासचिव डा केशव पौडेल, उपमहासचिव गणेश केसी, सचिवद्वय गोविन्द गौतम, खगेन्द्र न्यौपाने, पूर्व संस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदास, एनसीसी अमेरिकाका कोषाध्यक्ष राजीव श्रेष्ठ, एनसीसी यूकेकी रोजिना प्रधान, विनोद कुँवर, जानकी गुरुङ प्रमुख कार्यकारी अधिकृत रविकिरण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्