Logo

समाजवादी मोर्चा आगामी चुनाव अगावै पार्टी एकतामा रुपान्तरित हुुन्छ : माओवादी नेता



काठमाडौं, ५ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद माधव सापकोटाले नवगठित समाजवादी मोर्चा आगामी चुनाव अगावै पार्टी एकतामा रुपान्तरित हुने ठोकुवा गरेका छन् ।
‘अहिले चार दलको समाजवादी मोर्चा बनेको छ । तर समाजवादी मोर्चा बनाएर जानुपर्छ भन्ने बाबुराम भट्टराई नै प्राविधिक कारणले छुट्नुभएको छ । त्यसमा सीके राउत, रेशम चौधरीको पार्टीलाई पनि समेटेर फराकिलो घेरा बनाउँदै आउँदो चुनाव अगाडि नै पार्टी एकतामा रुपान्तरित गर्नुपर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
सापकोटाले विगतमा नेकपा बनाउँदा जस्तो हतारिएर एकता गर्न नहुने पनि औंल्याए । एमालेको मूल नेतृत्व इमानदारीपूर्वक रुपान्तरित नहुँदासम्म बृहत् समाजवादी ध्रुवीकरण सम्भव नहुने पनि उनले बताए । मोर्चा गठनसँगै नेपाली कांग्रेससँगको सत्ता साझेदारीमा अप्ठ्यारो पर्ने त होइन भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘सरकारमा हामी सँगसँगै छ । कांग्रेस र हामी मोर्चामा छैनौं, गठबन्धनमा मात्र हो । कांग्रेससँग खटपट हुने सम्भावना छैन ।’
वर्तमान सरकारलाई कसिलो, बलियो बनाउनुका साथै समाजवादी यात्रामा जाने कुरा सबभन्दा महत्त्वपूर्ण भएको सापकोटाले बताए । उनले भने, ‘संविधान हामीले सहमतिमा निर्माण गरेको साझा दस्तावेज हो । संविधानमै समाजवादको गन्तव्यमा पुग्ने किटान गरिसकेको छ । समाजवादी गन्तव्यमा पुग्ने चुनौतीलाई हामीले अवसरका रुपमा लिनुपर्छ ।’
बजेटका बारेमा सत्तापक्षमै किन दुई धार छ भन्ने अर्को प्रश्नमा सांसद सापकोटाले भने, ‘बजेट सरकारको नीति तथा कार्यक्रमभन्दा फरक ढंगले आयो । त्यसैले मैले बजेटलाई आलोचनात्मक समर्थन गरेको छु । राजेन्द्र (पाण्डे) माननीयको पनि त्यही भावना हो । समाजवादी मोर्चा बनिसकेकाले अब सरकार ढाल्ने, बजेट पास नहुने कुरा भएन ।’



प्रतिक्रिया दिनुहोस्