Logo

‘नेपालमा राजा र हिन्दु राज्यको विकल्पको रुपमा अर्को केही हुन सक्दैन्’ (भिडिओसहित)



काठमाडौं, ५ असार । बृहत्त प्रजातान्त्रिक संघर्ष समितिले नेपालका राजनीतिक दलहरुले गर्ने गरेको अप्राकृतिक गठबन्धनका कारण देश र जनताको स्वाभिमानमा आँच आएको बताएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा संघर्ष समितिले देशको विविध समसामयिक विषयमा अन्तरक्रियाका लागि पत्रकार सम्मेलनको आयोजना गरेको हो ।

अब नेपालमा राजा र हिन्दु राज्यको विकल्पको रुपमा अर्को केही हुन नसक्ने उनीहरुको दाबी छ । हिन्दुराज्य र राजतन्त्र पुनस्र्थापनाका लागि प्रजातन्त्रवादी शक्तिहरु जाग्न आवस्यक रहेको उनीहरुले बताएका छन् । संघर्ष समितिको संयोजक एवं संरक्षक रविविक्रम शाह रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अधिवक्ता तुलसीराम पोखरेल अहिलेको सरकारले देशलाई सही ढंगले सञ्चालन गर्न नसकेको अरोप लगाए । राष्ट्रिय परिचय पत्र बनाउँदा नेपालमा हिन्दु नारीले लगाएको सिन्दुर पुछ्न लगाएको भन्दै उनले आपत्ति जनाए । संविधानमा धर्म निरपेक्षता लेखेर अहिलेका राजनीतिक दलले देश र जनतामाथि खेलवाड गरेको उनको आरोप छ । धर्म निरपेक्षताको बारेमा सरकारले गम्भीर भएर नसोचेको खण्डमा अब नेपाली जनता आफैं जाग्नेसमेत उनको भनाई छ ।

‘नेपाल के कारणले हिन्दु राष्ट्र हुन नहुने ? नेपाललाई हिन्दु राष्ट्र बनाउनका लागि नेपाली जनता जागिसकेका छन् । नेपाली जनतालाई नजिस्क्याउनुस् । अब गलहत्याएर फालिदिन्छन्,’– उनले भने ।

धर्म, संस्कृति र संस्कारमाथि प्रहार हुनु दुर्भाग्य भएको उनको भनाई छ । अहिलेका राजनीतिक दलले लुटेर देशलाई कंगाल बनाएको उनले बताए । उनले देशलाई निकास दिनका लागि प्रजातान्त्रिक संघर्ष समितिको निर्माण भएको बताए ।

अधिवक्ता विष्णु खनालले देशका विभिन्न क्षेत्रबाट हस्तक्षेप भइरहेको बताए । नेपालका मौलिक परम्परा, संस्कार र संस्कृति र सार्वभौमता बचाइराख्नका लागि राजा महेन्द्र, यदुनाथ खनाल र विपी कोइरालाको जस्तो कुटनीति आवश्यक रहेको बताए । ‘हाम्रो कुटनीतिलाई सही ट्रयाकमा ल्याउन यदुनाथ खनाल, राजा महेन्द्र र विपी कोइरालाको जस्तो कुटनीति हुन आवश्यक छ । अहिले हाम्रो कुटनीति फेल भइरहेको अवस्था छ,’– उनले भने ।

कार्यक्रमका अर्का वक्ता डा.यज्ञमणि अधिकारीले संसारमा ज्ञान प्राप्तिको आधार वेद र लोक भएको दाबी गरे । यी दुवै चिजलाई एकीकृत गरेर जाँदामात्रै वेदलोकबाट ज्ञान प्राप्त गर्न सकिने उनले बताए । वैदिक कालमा धर्म व्यवस्था र राजनीतिक व्यवस्था रहेको उनले बताए । हिन्दुले राजालाई विष्णुको अवतारको रुपमा लिएको उनले बताए । अहिले राजा नहुँदा हाम्रो नेपालको सीमाहरु हराएको उनले बताए । हिन्दुहरुले विष्णुको अवतारका रुपमा लिएको राजाको खोजी गर्न सकेमा मात्रै देशको रक्षा हुनसक्ने उनको भनाई छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं अधिवक्ता यज्ञमणि न्यौपानेले आफ्नो पार्टीका सभापति रवि लामिछानेको २४ घण्टा नागरिकता नहुँदाको अप्ठ्यारो आफूहरुले महसुश गरेको र नेपाली नागरिकहरुले नागरिकता पाउनु पर्छ भन्ने पक्षमा रास्वपा रहेको बताए ।

‘मैले वर्तमान देशको अवस्था र राष्ट्रियताको कुरा गर्दे गर्दा मेरो पार्टीका सभापति रवि लामिछाने ज्यूको २४ घण्टा नागरिकता नहुँदाको पीडा पनि बुझेको छु । २४ घण्टा नागरिकता नहुँदाको पीडा बुझेका नागरिकले आजसम्म नेपाली नागरिक भएर नागरिकता प्राप्त नगरेका नागरिकहरुमा पर्न गएको पीडा हामीले बुझेका छौं,’– न्यौपानेले भने ।

कसैलाई नागरिकता विहीन बनाउन नहुने उनको भनाई छ । नागरिकता माथि राजनीति भइरहेको र यो नागरिक माथिको बेइमानी भएको उनले बताए । तर, राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयक संविधानको भावना र मर्म विपरीत भएको उनको दाबी छ ।

नयाँ जनप्रतिनिधिहरु सांसदको रुपमा आएपछि नयाँ विधेकमा छलफल भएरमात्रै प्रमाणीहरण हुनसक्ने उनको दाबी छ । राष्ट्रपतिले अहिलेको संसद्ले चिन्दै नचिनेको विधेयकलाई प्रमाणीकरण गरेको उनले बताए । नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रियता र राष्ट्रको विरुद्धमा गरिएको कार्य भएको उनले बताए ।

‘राष्ट्रियता र राष्ट्रको विरुद्धमा गरिएको कार्य हो । आफूले नागरिकतामाथि गरेको कार्य असफल भएपछि राज्य चलाउनेहरुले नैतिक रुपमा राजीनामा दिनपर्ने थियो,’– उनले भने ।

कटुवाल प्रकरणमा राजीनामा दिएका प्रचण्डले राजीनामा दिएको खण्डमा फर्किएर सोही ठाउँमा आउन लामो समय लाग्ने बुझेर चुपचाप बसेको उनको आरोप छ । नेपाली नागरिकताको दुरुपयोग अन्य देशका नागरिकबाट पनि हुनसक्ने तर्फ संकेत गर्दै उनले विहारीले नेपाली नागरिकता लिन्छन् भन्ने भ्रम त्याग्न आग्रह गरे ।

‘नागरिकताको समस्या तराईमा देख्छु । भारतका, विहारका नागरिकहरुले नागरिकता लिन्छन् भन्नेमात्रै देख्छौं । चाईनिजहरुले पनि नेपाली नागरिकता लिनसक्छन्, यो तर्फ हाम्रो आवाज हुँदैन ।’ उनले भने, ‘देहरादुनतर्फका बाहुन, क्षेत्री वा मंगोलियनहरुले नेपाली नागरिकता लिनसक्छन्, हामी खाली मधेशमा बसेका मधेशी भाषा बोल्ने अथवा विहारमा बसेका विहारीहरुले मात्रै नेपाली नागरिकता लिन्छन् भन्ने हामीले भ्रम पालेका छौं ।’ तराई तराईबासी मधेशीहरुले नै बचाउँदा पनि उनीहरुलाई राज्यले चिन्न नसकेको उनको आरोप छ ।

अधिवक्ता गणेश गिरीले राजाको पालामा देशको विकासको खाका स्पष्ट रहेको उल्लेख गर्दै उनले २०७२ सालमा नेपालको संविधान जारी भएपछि अबको दश वर्षमा देशलाई कहाँ पुर्याउने हो भन्ने एजेण्डा कुनै पनि राजनीतिक दलमा नरहेको बताए ।

साथै, राजनीतिक दलले मत पाउनका लागिमात्रै नागरिकताको विषयमा राजनीति गरेको र चुनाव आउँदामात्रै यस विषयले प्रश्रय पाउने गरेको उनले बताए । कार्यक्रममा अधिवक्ता डा. नवराज पाण्डे, गोविन्द बोहोरा, अधिवक्ता ज्ञानेन्द्र आरण, योगेश डंगोल लगायतले आफ्ना भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन त्रिलोक बहादुर चन्दले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्