सविता सिंह ठकुरी :
बदलिदो मौसमसँगै रुघाखोकी लाग्ने क्रम पनि बढ्दो छ । यो जाडो मौसममा लाग्ने रोग भएतापनि अहिले गर्मी मौसममा यो रोगको प्रकोप बढ्दो रुपमा देखा परेको छ । गर्मी मौसममा विभिन्न प्रकारका भाइरसहरु हाम्रो शरीरमा प्रवेश गर्छन् । जसले, हाम्रो शरीरलाई निकै हानी पु¥याउँदछ । यसले बालबालिकाहरुलाई धेरै नै सताउने गरेको पाइन्छ । बालबालिकाहरुमा यो रोग लाग्दा विद्यालयमा राम्रोसँग पढ्न नसक्ने र पढाईमा ध्यान नजाने देखिन्छ । रुघाखोकी बिग्रिएर पिनास जस्तो खतरनाक रोगलाई निम्त्याउँछ ।
यसको लागि हामीले समयमै सावधानी अपनाउन जरुरी पर्दछ । यसबाट बच्न हामीले बाटोमा हिँड्दा मास्क लगाउने, सरसफाइ गर्ने, फलफुललाई राम्रोसँग धोएर खाने, धुवा वा धुलोमा नबस्ने र रुघाखोकीको लक्षण देखिनासाथ घरेलु औषधी तथा अस्पतालमा गएर चेकजाँच गर्नुपर्दछ । यो रोग निकै सामान्य मानिएतापनि शरीरलाई निकै कमजोर बनाउँदछ । जसले हाम्रो शरीरलाई हानी पु¥याउनबाट बचाउँछ । रुघाखोकीबाट बच्न हामीले विभिन्न उपायहरु अपनाउन सक्छौं ।
१. प्रशस्त मात्रामा तरल पदार्थको सेवन गर्नुपर्छ ।
२. तातोपानीमा बाझोको झोल मिसाई बाफ लिनुपर्दछ ।
३. तातोपानी खानुपर्दछ ।
४. रुघाखोकी लागेको समयमा धेरै काम गर्नुहुदैन र आराम गर्नुपर्दछ ।
५. हाछ्यु गर्दा मुख छोप्नुपर्दछ र आफुले प्रयोग गरेको सामान डस्टबिनमा फाल्नुपर्दछ ।
६. नाकको प्वाल बन्द भएमा ड्रप वा स्प्रेको प्रयोग गर्नुपर्दछ ।
७. रुघाखोकी लागेको बेलामा महको प्रयोग गर्न सकिन्छ ।
८. धुलो, धुँवा र जीवजनावरको रौंबाट टाढा रहनुपर्दछ ।
९. घरको सरसफाइमा ध्यान दिनुपर्दछ र धुलो जम्न दिनुहुँदैन ।
१०. कुनैपनि औषधी प्रयोग गर्नुअघि चिकित्सकको सल्लाह लिनुपर्दछ ।
११. घरमै पाइने बेसार, अदुवा, टिमुरहरुलाई तातोपानीमा उमालेर खानुपर्दछ ।
File Photo/ReportersNepal