Logo

अनुदानमा कृषियन्त्र वितरण



देउखुरी, ६ असार । कृषि उपजको उत्पादन वृद्धि गर्ने र लागत घटाउने उद्देश्यले दाङको घोराही उपमहानगरपालिकाले किसानलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । पालिकाले पचास प्रतिशत अनुदानमा ३६ पावर टेलर, २० मिनी पावर टेलर, एउटा रोडाभेटर र दुई वटा थ्रेसर मेसिन उपलब्ध गराएको हो ।

कृषिमा यान्त्रिकरणको सहायताले उत्पादन बढाउने र किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले अनुदानमा कृषि औजार वितरण गरिएको घोराही उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख चोपनारायण खनालले जानकारी दिए । उनका अनुसार ५० प्रतिशत अनुदानमा विभिन्न उपकरणका साथै ८५ प्रतिशत अनुदानमा ११ वटा पम्पसेट र १२ वटा मोटर हस्तान्तरण गरिएको छ ।

दाङको घोराही–२ सुनपुरका तिलक चौधरीले गोरुको सहायताले १५ कट्ठा जमिन जोत्दै आएको थियो । यसअघि उनलाई खेती गर्न समस्या परेको थियो । एकातिर गोरुको स्याहार गर्नु पर्ने र अर्कोतिर खेतबारीमा काम गर्नुपर्ने भएकाले समय व्यवस्थापनलगायत काममा उनलाई गाह्रो भएको थियो ।

“एक हल गोरुले दिनभरी जोतेर खेती गर्नुपर्ने बाध्यता अब हटेको छ । पालिकाले पचास प्रतिशत अनुदानमा पावर टिलर दिएपछि खुसी लागेको छ । कृषि यान्त्रिकरणले समयको बचत हुनुका साथै काम गर्न पनि सहज भएको छ”, किसान चौधरीले भने ।

घोराही–९ कर्मटुवाका कलमती चौधरीले खेती गर्दा दुई हल गोरुको सहायता लिने गरेको बताए । एक बिघा पाँच कट्ठा जमिन जोतेर खेती गर्न उनलाई गाह्रो भएको थियो । उपमहानगरपालिकाले किसानलाई अनुदानमा कृषियन्त्र वितरण गर्ने सूचना थाहा पाएपछि उनले आवश्यक कागजपत्र पेस गरे ।

कलमतीले पावर टेलर अनुदानमा लैजान लागेको जानकारी दिनुभयो । गोरुले जोत्ने गरेकोमा अब मेसिनको प्रयोगले खेती गर्न सजिलो हुने उनको भनाइ थियो । “आफ्नो खेती सकियो भने अरुको खेती जोतेर पैसा कमाउने पनि सकिन्छ”, उनले भने ।

कृषि विकास शाखा प्रमुख खनालका अनुसार रू एक करोड १९ लाख ८५ हजारमा बोलपत्र भएकामा रू ९५ लाख ९५ हजार नौ सय ९० बालेपत्र स्वीकृति भएको थियो । नगरको तर्फबाट रू ४९ लाख ७३ हजार चार सय ६० किसानलाई अनुदान दिइएको उनले जानकारी दिए। उनका अनुसार उपमहानगरपालिकाले १९ वडाका ६२ किसानलाई रू ४० लाख बराबरको कृषिऔजार उपकरण वितरण गरेको हो ।

किसानलाई कृषि औजार वितरण गर्दै नगर प्रमुख नरुलाल चौधरीले कृषियन्त्रको सदुपयोग गर्दै कृषि तथा पशुपालन क्षेत्रको परिवर्तन गर्न र कृषिमा आत्मनिर्भर हुन आग्रह गरे । कृषिमा आधुनिकरणका लागि प्रविधिमा सहयोग गरिएको जनाउँदै उनले उत्पादनमा वृद्धि हुन नसके उपलब्धि नहुने बताए ।

घोराही उपमहानगरपालिकाले पछिल्लो चार वर्षमा पालिकाका एक सय ६८ किसानलाई विभिन्न कृषि उपकरण वितरण गरेको उपमहानगरपालिकाको कृषि शाखाले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्