Logo

शाही युवा शक्ति नेपालले माग्यो प्रधानमन्त्री दाहालको राजीनामा, शनिबार विरोध प्रदर्शन (भिडिओसहित)



प्रधानमन्त्री प्रचण्डले राजावादी र देशक्त शक्तिसँग डराएर समाजवादी मोर्चा बनाएको अध्यक्ष खड्काको आरोप, ज्ञानेन्द्रलाई तेस्रो पटक राजा बनाएरै छाड्ने उद्घोष
काठमाडौं, ७ असार । शाही युवा शक्ति नेपालले गणतन्त्र खारेज गरी राजतन्त्र पुनस्र्थापनाको मागसहित आगामी शनिबार विरोध प्रदर्शन गर्ने भएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी शाही युवा शक्ति नेपालले कार्यक्रमको बारेमा जानकारी गराएको हो । विरोध प्रदर्शनको कार्यक्रम यही असार ९ गते शनिबार नारायणहिटीबाट सुरु हुने बताइएको छ । उक्त कार्यक्रममा देशभक्त शक्तिहरुलाई स्वतस्फूर्त रुपमा सहभागिता जनाउनपनि शाही युवा शक्ति नेपालले आह्वान गरेको छ ।

शाही युवा शक्ति नेपालले युद्ध अपराधको मुद्दा खेपिरहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासमेत माग गरेको छ । शाही युवा शक्ति नेपालको केन्द्रीय अध्यक्ष पशुपति खड्काले राजावादीलाई गाली गरेरमात्रै यो व्यवस्था नटिक्ने बताए । प्रधानमन्त्री प्रचण्डले राजावादी र देशक्त शक्तिसँग डराएर समाजवादी मोर्चा बनाएको उनको भनाई छ । एउटा नेता पाँच पटक प्रधानमन्त्री बन्ने देशमा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा घोषणा गर्न कुनै अप्ठ्यारो नहुने उनको भनाई छ । आगामी दिनमा स्वतस्फूर्त रुपमा जनतालाई सडकमा ल्याएर गणतन्त्र फाल्ने उनको चेतावनी छ । राजतन्त्र नफर्किएसम्म आफ्नो आन्दोलन जारी रहने उनको भनाई छ ।

‘हामी मिडियामार्फत जनतालाई जगाउने र जनताको शक्तिले नेपालको राजसंस्था पुनस्र्थापना गर्ने तयारीमा छौं । जनतालाई जगाएर, स्वतस्फूर्त रुपमा नेपालको राजसंस्था फर्काउने हाम्रो अठोट र दृढ संकल्प छ,’– उनले भने ।

आगामी शनिबार हुने कार्यक्रममा पनि स्वतस्फूर्त रुपमा नेपाली जनताको सहभागिता हुने उनको भनाई छ । गणतन्त्रको चाँडै अनत्य भएर राजसंस्था पुनस्र्थापना हुने उनको भनाई छ । यो आन्दोलन राष्ट्र, धर्म र माटोका लागि भएको उनले बताए । उनले देशमा प्रधानमन्त्रीजस्तो बालेन्द्र शाह देखिएको बताए । देशको संघीय सरकारको कुनै औचित्य नरहेको उनको दाबी छ ।

कार्यक्रमका वक्ता रिताबहादुर पण्डितले आफूलाई राजा र प्रजातन्त्रको अति माया रहेको बताए । अब राजा सुतेर बस्न र भ्रष्टाचार नेपालमा राख्न नहुने उनको भनाई छ ।

शाही युवा शक्ति नेपालका केन्द्रीय सदस्य रामसुन्दर कार्कीले राजा नै सबै नेपालीको साझा भएको बताए । आजको परिस्थितिमा देश र देशको धर्म, संस्कृति जोगाउन आफूहरुको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।

अर्का केन्द्रीय सदस्य माधव कार्कीले देशमा राजाको आवश्यता दिनप्रतिदिन बढ्दै गएको दाबी गरे । नेताहरुले देशको भाषा, धर्म र संस्कृति बेचेर खाएको उनको आरोप छ ।

शाही युवा शक्ति नेपालका केन्द्रीय उपाध्यक्ष प्रेम बैदारले प्रचण्डलाई प्रधानमन्त्री भन्न पनि लाज लागेर आएको बताए । उनले अहिलेको शासन व्यवस्थालाई दुष्टहरुको शासन व्यवस्थाको संज्ञा दिए । राजतन्त्र पुनस्र्थापना नभएसम्म आफूहरुको सडक संघर्ष कायमै रहने उनले बताए ।

नेपालका लागि नेपाली पार्टीका महामन्त्री दीपकराज आत्रेयले अहिले देश विकराल अवस्थामा रहेको टिप्पणी गरे । राष्ट्रमा राष्ट्रलाई माया गर्ने व्यक्तिको कमी भएको उनको दाबी छ । यसको मूल कारण गणतन्त्र भएको उनको आरोप छ । प्रधानमन्त्री प्रचण्डले अब पदबाट राजीनामा दिन पर्ने अवस्था आएको उनले बताए ।

राजसंस्था र धर्मको मद्दा लिएर हिँड्नेहरुलाई राज्यले पक्राउ गर्ने घृणित कार्य गरेको उनले बताए । सरकारले आफैंले बनाएको गणतन्त्रावादी संविधानकै उल्लङ्घन गरेको उनको आरोप छ । गणतन्त्रवादीहरुले गणतन्त्र जोगाउनका लागि मोर्चा बन्दी गरिरहेको अवस्थामा आफूहरुले पनि विचार मिल्ने शक्तिहरुसँग कार्यगत एकता गरिरहेको उनले बताए ।

शाही युवा शक्ति नेपालका सर्लाही जिल्ला अध्यक्ष रनोज चालिसेले आफूहरुले राष्ट्रिय परिवर्तनका लागि ठूलो कमद चालिरहेको बताए । अहिले देशमा जतापनि समास्या र आक्रोशमात्रै रहेको उनले बताए । यो सबै समस्याको जड गणतन्त्र भएको उनको भनाई छ ।

विश्व हिन्दुृ महासंघ धर्मसभा संयोजक धर्मापाल गुरु वशिष्ठले प्रधानमन्त्री प्रचण्डले बालकहरुको मानसपटलसँग खेलवाड गरेको आरोप लगाए । प्रचण्डले नागरिकका छोराछोरीको भावनामाथि खेलबाँड गरेको उनको आरोप छ । प्रचण्डले विदेशीवाद नेपालमा ल्याएर राष्ट्रको अस्तित्व मेटाउने खोजेको उनको आरोप छ । नेपालको हितमा पृथ्वीवाद, शाह वंशीय राजतन्त्रमात्रै भएको उनको दाबी छ ।

कार्यक्रमका अर्का वक्ता सन्तोष सिलवाल (सन्तोष राजावादी) ले प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा दिन आवश्यक रहेको बताए । पार्टीको झोला बोक्ने कार्यकर्ताहरुलाई देशको कुनै माया नभएको उनको आरोप छ । उनले देश संकट अवस्थामा रहेको बताउँदै सबैलाई गणतन्त्रको अन्त्य र राजतन्त्रको पुनस्र्थापनाको पक्षमा उभिन आग्रह गरे । राजाको पालामा वीर गोरखालीको देश भनेचर चिनिएको देश अहिले नेताहरुले मानव तस्करीको देशको रुपमा चिनाएको उनले बताए । कार्यक्रम सञ्चालन राम चौहानले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्