Logo

फोहरबाट उत्पादित ग्यासपाइप लाइनबाट वितरण गर्न सुरु



देउखुरी, १० असार । दाङको घोराही उपमहानगरपालिका–१६ करौँतीडाँडामा गल्ने फोहरबाट ग्यास र मल उत्पादन सुरु भएको छ । साथै उपमहानगरपालिले पाइप लाइनका माध्यमबाट ग्यास वितरण भने सुरु गरेको छ ।

करौँतीडाँडामा फोहरबाट ग्यास उत्पादन गरी पहिलो चरणमा प्रभावित क्षेत्रका ३५ घरपरिवारलाई निःशुल्करूपमा ग्यास वितरण गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ४० प्रतिशत र नेपाल ऊर्जा विकास कम्पनी प्रालिको ६० प्रतिशत लगानीमा ग्यास उत्पादन परियोजना तयार भएको नगर उपप्रमुख हुमा डिसीले बताए । फोहर प्रभावित क्षेत्रका नागरिकलाई ग्यास चुलो वितरण र घरघरमा पाइपलाइन पु¥याउने काम भइरहेको डिसीले बताए ।

उद्योगबाट उत्पादित ग्यास पाइप लाइनबाट वडा नं १० र १६ का एक हजार पाँच सय घरमा पु¥याइने परियोजनाको लक्ष्य रहेको उपप्रमुख डिसीले बताए। पाइप लाइनबाट ग्यास प्रयोग गर्न पाउँदा स्थानीय खुसी भएका छन् ।

ग्यास प्लान्ट पूर्ण क्षमतामा सञ्चालन भएमा दैनिक दुई हजार घनमिटर ग्यास उत्पादन र दैनिक तीन सय क्विन्टल फोहर चाहिने भएको छ । फोहरबाट ग्यास उत्पादन सुरु भएपछि उपमहानगरलाई फोहर व्यवस्थापनमा सजिलो भएको छ । विसं २०७५ मङ्सिर ५ गते सम्झौता भई सुरु भएको परियोजना निर्माणका लागि करिब रु २२ करोड लाग्ने अनुमान गरिएको छ । संरचना निर्माणका लागि उपमहानगरपालिकाले करिब तीन बिघा जग्गा उपलब्ध गराएको छ ।

उपमहानगरपालिकाले ग्यास वितरण गरेकामा वडा नं १६ निवासी शोभा चौधरीले खुसी व्यक्त गरे । “ग्यास बाल्न पाउँदा धेरै खुसी लागेको छ, दाउराको प्रयोग गरेर खाना पकाउने गरेको थिए, उपमहानगरपालिकाले घरघरमा ग्यास वितरण गरेपछि ग्यासमा खाना पकाउने गरेको छु”, उनले भने ।

बायोग्यास उद्योगले पाइपका माध्यमबाट घरमै ग्यास दिन थालेपछि समय र इन्धनको बचत भएको छ । वैशाख अन्तिम सातादेखि उद्योगले बायोग्यास वितरण थालेपछि दैनिक भान्सामा काम गर्न सहज भएको चौधरीले बताए ।

सोही ठाउँकी सिर्जना चौधरीले पनि दैनिक दाउराका भरमा खाना पकाउँदै आएको थियो । उनले सुरुमा त ग्याँस प्रयोग गर्न नजानेको बताए । घरमै पानीको धारा खोलेजस्तै गरि ग्यास बाल्न पाउँदा उहाँमा खुसीको सीमा नै छैन । “दाउराकै भरमा घरमा खाना पकाउने गरेका थियौँ तर अहिले उद्योगले निःशुल्करूपमा ग्यास दिन थालेपछि सजिलो भएको छ”, उनले भने, “दाउरा खोज्नुपर्ने बाध्यता हटेको छ ।” रासस



प्रतिक्रिया दिनुहोस्