Logo

बालेनले कानुन र अदालतलाई निःसर्त मान्नुपर्छ : माओवादी नेता



काठमाडौं, ११ असार । नेकपा (माओवादी केन्द्र) का नेता मुक्तिनारायण प्रधानले नेकपा एमालेले जतिसुकै कोसिस गरे पनि सरकार नढल्ने ठोकुवा गरेका छन् ।
‘अहिले नेकपा एमालेले सरकार परिवर्तन गर्न चाहेको छ । त्यसका लागि उसले गठबन्धन तोड्न तोड्ने प्रयास गर्न सक्छ । तर संविधानअनुसार दुई वर्ष नपुगीकन सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन मिल्दैन । गठबन्धनको मुख्य दल नेपाली कांग्रेस नै त्यसको पक्षमा छैन । त्यसैले तत्काल गठबन्धन टुट्ने अवस्थामा छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
लोकतन्त्र, संघीयता र गणतन्त्रलाई संस्थागत गर्ने एजेन्डा बोकेको गठबन्धनलाई पाँच वर्ष टिकाउनुपर्ने प्रधानले धारणा छ । बजेटमा ‘पावरवाला’ले मनपरी गरेको आरोप पनि उनले लगाए । प्रधानले भने, ‘बजेट भनेको त जनतालाई लक्षित गरेर ल्याउने हो नि । जो पावरमा छ, जो मन्त्री, प्रधानमन्त्री छ, उसको जिल्लामा ओइराउने, अन्यत्रलाई उपेक्षा गर्न मिल्दैन नि ।’
अर्को प्रसंगमा वरिष्ठ अधिवक्तासमेत रहेका प्रधानले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले ‘पपुलारिटी’का लागि कानुन मान्दिनँ भन्नै नमिल्ने पनि बताए । उनले थपे, ‘बालेन नयाँ हो, युवा हो, इन्जिनियर हो । भरखर जनप्रतिनिधि भएर आउनुभएको छ । उहाँसँग अनुभव छैन । कानुन के हो ? संविधान के हो ? उहाँले बुझ्नुपर् यो । कुनै फैसलामा असहमति हुन सक्छ, तर कानुन मान्दिनँ, सर्वोच्च अदालत मान्दिनँ, थाहा पाइनँ भन्नै मिल्दैन । पपुलारिटीका लागि जे पनि बोल्ने होइन । उहाँका सल्लाहकारले कस्तो सुझाव दिएका हुन् ? कानुनको निःसर्त पालना गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्