Logo

एमाले सधैंभरि प्रतिपक्षमा बस्न जन्मेको पार्टी होइन : पद्मा अर्याल



काठमाडौं, १३ असार । नेकपा एमालेकी सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले मुलुकको आर्थिक संकट समाधान गर्न नसक्ने बजेट पारित गर्न नहुने बताएकी छन् ।
‘बजेट नियमित प्रक्रियाबाट आउने कुरा हो । तर यो निकै असन्तुलित छ । यसले मुलुकको आर्थिक संकट समाधान गर्न सक्दैन । बजेटका सम्बन्धमा हामीले आफ्ना धारणा जोडदार ढंगले राखेकै छौं । तर पास वा फेल हाम्रो हातमा छैन । सरकारसँग बहुमत छ । सत्तारुढ दलहरुबीच सहमति भए पास होला, खटपट भए नहोला । तर यथास्थितिमा बजेट पारित गर्नु हुँदैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भनिन् ।
सचिव अर्यालले नेकपा एमाले बजेट असफल बनाएर सरकार ढाल्ने पक्षमा नरहेको जिकिर गरिन् । उनले थपिन्, ‘नेकपा एमाले जिम्मेवार प्रतिपक्ष हो । यो सत्तादेखि सत्तासम्म मरिहत्ते गर्ने पार्टी होइन । कसैले कसैसँग भेट्यो पा कुरा गर् यो भन्दैमा सरकारलाई फलानो गौंडामा फाल्न लाग्यो भन्ने हुँदैन । असार १३ सम्म त्यो कोर्समा छैनौं । तर मुलुक नै समाप्तिको बाटोमा गयो भने टुलुटुलु हेरेर बस्दैनौं । एमाले सधैं प्रतिपक्षमा बस्न जन्मेको पार्टी होइन । प्रतिपक्षमै बसिरहन्छ भन्ने ठान्नु पनि हुँदैन ।’
ललिता निवास जग्गा प्रकरणमा २०७५ मा केपी शर्मा ओलीको सरकारले गरेको छानबिनलाई नै निरन्तरता दिनुपर्ने उनले औंल्याइन् । अर्यालले भनिन्, ‘त्यतिबेला नै हामीले कारबाही अघि बढाउने काम गरेका हौं । त्यही प्रतिवेदनलाई आधार मानेर पक्राउ गर्नुपर्ने जतिलाई अनुसन्धान गर्ने, निर्दोषलाई छाड्नुपर्छ ।’ तर सरकारी सम्पत्ति कब्जा गर्ने व्यक्तिलाई छाड्नु नहुने उनको धारणा छ ।



प्रतिक्रिया दिनुहोस्