Logo

एमालेका प्रमुख सचेतकलाई प्रश्न— सरकार ढाल्ने तपाईंहरूको योजना कसरी तुहियो ?



काठमाडौं, १४ असार । प्रतिनिधिसभामा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले आफ्नो पार्टी सरकार ढाल्नकै निम्ति बजेटको मत विभाजनमा नगएको स्पष्टीकरण दिएका छन् ।
‘सरकारले ल्याएको बजेट सन्तुलित भएन, मुलुकको समस्या चिन्न र बुझ्न सकेन, जनतामा आशा र भरोसा जगाउन सकेन भन्ने कुरा हामीले मात्र होइन, सत्तापक्षका सांसदहरुले समेत बालेकै हुन् । सत्तापक्षका राजेन्द्र पाण्डेलगायत माननीयहरुले हिजोअस्ति संसदमा जे बोल्नुभएको थियो, त्यस अनुसार विपक्षमा मत हाल्नुहुन्छ भन्ने लागेर हामीले मत विभाजनमार्फत सबैलाई बाटो खुलाइदिएको हौं । यसमा लुकाउनुपर्ने केही छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
प्रमुख सचेतक गिरीले छापामार शैलीमा सरकार ढाल्न मत विभाजनको फन्डा नल्याएको दाबी समेत गरे । उनले भने, ‘सत्तापक्षकै सांसदहरुले यस्तो बजेट लिएर अब कसरी गाउँ जाने भन्ने अवस्था आयो । पहुँचका आधारमा तीन जिल्लामा आधा बजेट खन्याइयो । पुष्पकमल दाहाल प्रचण्डलाई म देशको प्रधानम्न्त्री हुँ भन्ने फिल नै भएन, उहाँ गोरखाको मात्र प्रधानमन्त्री हुनुभयो । डा. प्रकाशशरण महत देशको अर्थमन्त्री होइन, नुवाकोटको पनि आफ्नो क्षेत्रको मात्र मन्त्री हुनुभयो । अर्जुननरसिंह केसीले संसदमै बिलौना गर्नुभयो, कटाक्ष गर्नुभयो । प्रकाश ज्वाला पनि आफ्नो जिल्लाको मात्र मन्त्री हुनुभयो, दाङ र प्युठानलाई देख्नुभएन । मन्त्री, प्रधानमन्त्रीमा चिन्तनको जुन धरातल र लघुताभास देखियो, त्यसले मुलुकले आज जुन सकस भोगिरहेको छ, त्यसमा सधार आउने देखिएन ।’
प्रधानमन्त्री प्रचण्डले आफ्नो कामको मूल्यांकन आफैं गरी डिस्टिङ्सन दिँदा लोकलाज नमानेको आरोप पनि गिरीले लगाए । उनले भने, ‘रोम जलिरहँदा बाँसुरी बजाएर बसेको निरो जस्तै दृश्य देखियो । आफ्नो कामको मूल्यांकन आफैं गर्न मिल्छ ? आफूले आफैंलाई डिस्टिङ्सन दिँदा लोकलाज मान्नु पर्दैन ?’



प्रतिक्रिया दिनुहोस्