काठमाडौं, असार १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको आठदलीय वर्तमान सरकारको काम कारबाहीप्रति सत्तारुढ दलहरू नै असन्तुष्ट बनेका छन् । सरकारले जनताको अपेक्षाअनुसार विकास निर्माण, सेवाप्रवाह र सुशासनको प्रत्याभूति दिलाउन नसकेको भन्दै शीर्ष नेताहरूले सरकारप्रति असन्तुष्टि पोखेका हुन् ।
सत्तारुढ गठबन्धनको महत्वपूर्ण दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति सन्तुष्ट हुन नसकेको बताए। उनले ६५औं संसद् दिवसको अवसर पारेर शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सरकारले जनताको अपेक्षाअनुसार विकास निर्माणको काम, सुशासनको प्रत्याभूति र जनतालाई सहज सेवा उपलब्ध गराउन नसकेको टिप्पणी गरे।
‘भ्रष्टाचारको अन्त्य गर्ने, सुशासनको प्रत्याभूति दिने, जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी सरकारलाई दबाब दिने काममा सांसदहरू लाग्नुस्’ –नेपालले भने । देशको स्वाभिमानको रक्षा गर्ने विषयमा सबै राजनीतिक दलहरू एकतावद्ध भएर अघि बढ्नुपर्ने भन्दै उनले वर्तमान सरकारबाट अपेक्षा अनुसारका काम नभएको बताए ।
त्यस्तै, सरकारसँग असन्तुष्ट रहेको सीके राउत नेतृत्वको जनमत पार्टी सरकारबाट बाहिरिने विषयमा छलफल चलाउँदै छ । उक्त दलका एक नेताले भने हामीले सरकारलाई दिइएको समर्थनको पुनर्विचार गर्नुपर्ने अवस्था आएको बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दुईपटक विश्वासको मत दिएको सीके राउत नेतृत्वको जनमत पार्टी समर्थन फिर्ता लिने मुडमा पुगेपछि गठबन्धन सरकारमा हलचल आउनसक्ने अनुमान राजनीतिकवृत्तमा छ । प्रधानमन्त्री प्रचण्डलाई शनिवार भेटेर जनमतका अक्ष्यक्ष तथा संसद सीके राउतले सरकारको विषयमा अन्तिम निष्कर्षमा पुग्ने तयारीमा रहेको बताएको श्रोतको दाबी छ ।
यद्यपि, यसै विषयलाई लिएर तत्काल सरकारमा खटपटी नआउने सत्तावादी दलका नेताहरूले दाबी गरेका छन् । सरकारको काम कारबाहीप्रति सुधारात्मक आलोचना गर्नेबित्तिकै सरकार परिवर्तनकै अवस्थामा पुगिहाल्यो भनेर बुझन नहुने नेकपा एकीकृत समाजवादीका एक नेताले बताए । उता नेकपा माओवादी केन्द्रका नेताहरूले भने सत्तामै रहेर विपक्षीलाई फाइदा पुग्नेगरी गरिने क्रियाकलाप रोकिनुपर्ने बताएका छन् । नेपाल समाचारपत्र दैनिकबाट