Logo

कोसी प्रदेशमा गठबन्धनकै तर्फबाट मुख्यमन्त्री बन्छ : माओवादी सचिव



काठमाडौं, १८ असार । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री दिनानाथ शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारले भ्रष्टाचारीलाई ठेगान लगाउने अभियान थालेको बताएका छन् ।
‘सरकारको आलोचना र विरोध गर्नु त प्रतिपक्षको धर्म नै हो । अहिले नेकपा एमालेले गरेको पनि त्यही हो । प्रधानमन्त्रीले नराम्रो गर्नुभएको छैन । राम्रो गर्ने प्रयत्न गरिरहनुभएको छ । यो सकारात्मक पक्ष हो । पहिलेका सरकारहरुले थन्काएर राखेका भ्रष्टाचारको फाइल खोल्नुभएको छ । जनताको सुशासन र समृद्धिप्रतिको चाहनालाई सम्मान गर्ने हो भने भ्रष्टाचारीलाई ठेगान लगाउने अभियान अघि बढाउनुको विकल्प छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
अर्को प्रसंगमा नेता शर्माले कोसी प्रदेशमा सहमतिमै गठबन्धनका तर्फबाट मुख्यमन्त्री बन्ने पनि ठोकुवा गरे । उनले भने,’ सरकार बन्नु अघि दाबी सबैको हुन्छ । आकांक्षा राख्नु स्वाभाविक हो । तर सबै कुरा सहमतिमै टुंगिन्छ ।’
तपाईंहरुले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई महासचिव बनाउन लाग्नुभएको हो भन्ने पत्रकार धमलाको प्रश्नमा शर्माले भने, ‘सकेसम्म सबै वामपन्थी शक्तिलाई एकताबद्ध गर्ने हाम्रो अभियान हो । विप्लवजी हामी सँगै काम गरेको, लडेर आएको र संघर्ष गरेको नेता हो । उहाँलाई पार्टीमा सामेल गराउनु र जिम्मेवारी दिनु नराम्रो हुन्छ र ? साउन १७ मा हाम्रो पार्टीको केन्द्रीय समिति बैठक छ । महासचिव बनाउने वा नबनाउने निर्णय गर्छ ।’
अर्को प्रसंगमा उनले गठबन्धन दलहरुको चित्त प्रसन्न हुने गरी काम गर्न प्रचण्ड तयार रहेको पनि बताए । शर्माले भने, ‘गठबन्धन सरकारमा लचकता चाहिन्छ । देशले फराकिलो छाती भएको प्रधानमन्त्री पाएको छ । उहाँले गठबन्धनका साथीहरुको चित्त प्रसन्न हुने गरी काम गर्नुहुन्छ ।’ प्रचण्ड सरकार भारत र चीनसँग ढल्किने भन्दा पनि समदुरीको सम्बन्ध बनाउने पक्षमा रहेको दाबी पनि शर्माले गरे ।



प्रतिक्रिया दिनुहोस्