काठमाडौं, १८ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकार परिवर्तन गरेर आफ्नै नेतृत्वमा सरकार गठनको गृहकार्यमा जुटेको चर्चा छ। तर, अहिले नै देउवाले यस्तो कदम चालिहाल्नेमा कांग्रेसकै नेताहरू विश्वस्त हुन सकेका छैनन्।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सरकारको नेतृत्व लिन देउवालाई प्रस्ताव गरेको चर्चा छ। दुवै चर्चामा कुनै सत्यता नभएको दुवै दलका प्रभावशाली नेताहरूको दाबी छ। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको कार्यशैलीलाई लिएर देउवापनि रुष्ट बनेका छन्।
खासगरी आफूहरूसँगको गठबन्धनमा रहेकै बेलामा दाहालले आफ्नो नेतृत्वमा छुट्टै समाजवादी मोर्चा गठन गरेपछि देउवा बिच्किएका छन्। प्रधानमन्त्री दाहालले आफ्नो शक्ति बढाउनको लागि गठबन्धनभित्रै अर्को गठबन्धन बनाएको भन्दै कांग्रेसकै मन्त्रीहरू असन्तुष्ट छन्।
सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका सभापति देउवा उपचारको क्रममा देश बाहिर रहेको मौका छोपेर दाहालले समाजवादी मोर्चा गठन गरेपछि देउवाले एमालेसँग सहकार्यको मुड बनाएका छन्। देउवा सिंगापुरमा नै रहेको बेला एमाले नेताहरूले नयाँ सहकार्यको लागि छलफल गरेको बुझिएको छ। तर, यसबारे दुवै दलका नेताहरूले मुख खोलेका छन्।
हिजोमात्रै पनि ओलीले संसद् भवनमा मिडियाकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै, ‘कांग्रेससँग कुनै हिमचिम छैन, फोनमा पनि कुरा भएको छैन। भेट्दा हाईहेल्लोमात्रै भैरहेको छ, उहाँहरू खासमा कुराकानी गर्नपनि डराईरहनुभएको छ’ भनेर भनेका थिए। यसले पनि के देखाउँछ भने एमाले कांग्रेससँग सत्ता–सहकार्यको लागि तयार छ।
तर, कांग्रेस नेतृत्व खासगरी सभापति देउवा नै यसको लागि तयार नभएको एमाले नेतृत्वको बुझाई छ। यो बीचमा प्रधानमन्त्री प्रचण्ड, सत्ता घटककै नेता माधवकुमार नेपाल र एमाले अध्यक्ष ओलीलेसमेत नेकपा व्युँताउने कुरा गरेपछि देउवा झनै सशंकित बनेका छन्। तर, देउवाले प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना विश्वाससिला नेता बालकृष्ण खाँणलाई पक्राउ गरेपछि भने रुष्ट बनेका छन्।
उनले आफूनिकट नेताहरूसँग प्रचण्ड नेतृत्वको सरकार ढाल्नैपर्ने बताउन थालेका छन्। त्यसको लागि उनले उपयुक्त समय दशैंपछिको लागि तय गरेका छन्। यो बीचमा उनी ‘पर्ख र हेर’ को अवस्थामा रहेका छन्। उनले आफूनिकट नेताहरूसँग पछिल्लो समय भन्ने गरेका छन्–‘प्रचण्डलाई दशैंपछि देखाईदिने हो, अहिले धेरै चुरीफुरी भैरहेको छ।’
FILE PHOTO/ReportersNepal