Logo

लागुऔषधविरुद्ध विद्यालयमा सचेतना



बैतडी, १९ असार । लागुऔषधविरुद्ध जिल्ला प्रहरी कार्यालयले सचेतना अभियान सञ्चालन गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाभरिका विद्यालयमा सचेतना कक्षा सञ्चालन गरिएको हो ।

जिल्लाका सबै विद्यालयमा गएर विद्यार्थीलाई लागुऔषधविरुद्ध सचेतनामूलक कक्षा सञ्चालन गर्दैआएको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । लागुऔषधविरुद्धको अभियानका बारेमा विद्यार्थीको धारणा बुझ्ने र लागुऔषधका क्रियाकलापमा संलग्न नहुन सचेत गराउन अभियान थालिएको उनको भनाइ छ ।

प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले विद्यार्थी असल सेवक बन्न सकुन, कुसल राष्ट्रसेवक र नेतृत्वकर्ता बन्न सकुन र सभ्य समाज निर्माण गर्न सकुन भन्ने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको बताए । पछिल्लो समय लागुऔषध प्रयोग गर्नेको सङ्ख्या बढ्दै गइरहेको छ । ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढी छ ।

प्रहरीको अभियान अहिलेको समयमा आवश्यक रहेको सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले बताए । उनले भने, “लागुऔषध दुव्र्यसनीमा फस्नेको सङ्ख्या बढ्दै गएको छ । यसले समाजमा विभिन्न अपराध निम्त्याउन सक्छ, प्रहरीले लागुऔषधविरुद्ध बढाएको सक्रियता उत्तम छ ।”

विषेश अप्रेशन पनि जारी

बैतडी प्रहरीले लागुऔषधविरुद्ध विषेश अप्रेशन सञ्चालन गरेको छ । लागुऔषधले समाजमा नकारात्मक प्रभाव पारिरहेकाले त्यसको नियन्त्रणका लागि प्रहरीले विशेष अप्रेशन सञ्चालन गरेको हो । जिल्ला प्रहरी कार्यालयले चालुु आर्थिक वर्षको हालसम्म लागुऔषध ओसारपसार, बिक्री वितरण र सेवनमा संलग्न रहेका १४ जनालाई पक्राउ गरिसकेको छ ।

प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा खटिएको टोलीले विभिन्न समयमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये १३ जनाविरुद्ध मुद्दा दर्ता गरी कारबाही पक्रिया अघि बढाएको छ । भारतसँग सीमा जोडिएको भएका कारण यहाँ लागुऔषध ओसारपोसार र बिक्री वितरण बढी हुने गरेको पाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्