Logo

संघीय निजामती ऐनमा प्रधानमन्त्री र मुख्य सचिवको चासो



काठमाडौं, असार २०। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा ऐन छिटो ल्याउने गरी गृहकार्य अघि बढाउन मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई निर्देशन दिएपछि आवश्यक गृहकार्य तीव्र पारिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सक्रियतामा संघीय निजामती सेवा विधेयकका बारेमा घनीभूत छलफल थालिएको हो ।

प्रधानमन्त्री कार्यालयमा संघीय निजामती सेवा विधेयकका सम्बन्धमा धेरैपटक छलफल भइसकेको बताइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केहि महिनाअघि मात्रै संघीय निजामती सेवा विधेयक आवश्यक परामर्शका लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाएको थियो तर विधेयकका बारेमा व्यापक विवाद भएपछि त्यसै रोकिँदै आएको छ । अर्थ र कानुनले परामर्श नदिँदा सो विधेयक त्यसै अलपत्र पर्दै आइरहेको छ ।

अलपत्र परेको विधेयकका बारेमा प्रधानमन्त्री र मुख्य सचिवले बढी चासो दिएपछि विधेयक अघि बढ्ने अवस्थामा पुगेको प्रधानमन्त्री कार्यालयका एक सचिवले बताए । सरकारले केही समय अघि मात्रै विधेयकमा आवश्यक सहमति खोज्न उपयुक्त वातावरण बनाउने उद्देश्यले उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपप्रधानमन्त्री खड्काको अध्यक्षतामा रहेको कार्यदलसँग पनि विधेयकका बारेमा छलफल गर्दै आइरहेको छ ।

मुख्य सचिव अर्यालको अग्रसरतामा कानुन र अर्थ मन्त्रालयसँग पनि आवश्यक छलफल गरि सो विधेयकलाई अन्तिम रूप दिने गरी गृहकार्य अघि बढाइएको प्रधानमन्त्री कार्यालयका ती सचिवले बताए । प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो– ‘अब प्रधानमन्त्री कार्यालयकै अगुवाइमा कानुन र अर्थले पनि संघीय निजामती विधेयकलाई परामर्शसहित स्वीकृति प्रदान गर्ने गरि थप छलफल अघि बढाइएको छ, छिटै कानुन र अर्थ मन्त्रालयबाट आवश्यक परामर्शसहित सहमति आउनेछ ।’ त्यसपछि सो विधेयकलाई छिटै मन्त्रिपरिषद्मा लगेर स्वीकृत गराइने तयारी गरिएको छ ।

संविधान जारी भएलगत्तै आउनुपर्ने संघीय निजामती सेवा ऐन ७ वर्षदेखि आउन सकेको छैन । जसका कारण स्थायी सरकार भनेर चिनिने निजामती प्रशासन पुरानै कानुनबाट सञ्चालन हुन वाध्य छ । अहिलेको प्रशासन ३० वर्षअघि बनेको निजामती सेवा ऐन र नियमावलीका आधारमा चलिरहेको छ । जुन संघीय शासन प्रणालीको मर्म विपरीत छ । यद्यपि, संघीय निजामती सेवा ऐन ल्याउन प्रमुख भूमिका खेल्ने तालुक मन्त्रालय भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हो । यो मन्त्रालयको प्रयासले मात्रै नभएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आफैं तातेको हो ।

प्रचण्ड प्रधानमन्त्री बन्नासाथ छिट्टै संघीय निजामती सेवा ऐन ल्याउने प्रतिवद्धता जनाएका थिए । तर, ६ महिनासम्म ऐन आउन नसकेपछि उनले अहिले आएर बल्ल संघीय निजामती ऐन ल्याउने गरी गृहकार्य अघि बढाउन मुख्य सचिवलाई निर्देशन दिएका छन् । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्