काठमाडौं, २१ असार । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा आवश्यक नभएको बताएका छन् ।
‘प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने विषय उठाएर हिजो संसद् अवरोध भयो । उहाँले कुन सन्दर्भमा त्यस्तो बोल्नुभयो, केका लागि भन्नुभयो ? प्रधानमन्त्री स्वयंले जवाफ दिनु होला । यो मैले स्पष्टीकरण दिने विषय भएन । तर नेपालको प्रधानमन्त्री दिल्लीले बनाउने भन्ने कुरा होइन । प्रचण्डलाई हामीले भोट हालेर प्रधानमन्त्री बनाएका होइनौं र ? यो राजीनामा दिने विषय हो जस्तो पनि लाग्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
सांसद खड्काले विपक्षीले माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने पनि बताए । उनले भने, ‘प्रधानमन्त्री बनाउन उहाँहरुले सहयोग गर्नुभएको होइन । एमालेले के के भन्दै जान्छ, कांग्रेस त्यसको पछि लाग्ने पार्टी पनि होइन । प्रचण्डलाई गठबन्धन दलले प्रधानमन्त्री बनाएको हो । गठबन्धनले राजीनामा मागेको छैन । अहिलेको आवश्यकता पनि त्यो होइन । अहिलेको आवश्यकता बाढीपहिरोपीडितलाई राहत र पुनस्र्थापना, अर्थतन्त्रलाई मजुबत बनाउनु हो ।’
हिजो आफूले कांग्रेस पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर संखुवासभाका बाढीपहिरो पीडितलाई राहत र पुनःस्थापना, आवातजावतमा रहेको समस्या गठबन्धन बैठकमा राखिदिन आग्रह गरेको पनि उनले बताए । उनले भने, ‘महिनैपिच्छे राजीनामा माग्दै मुलुकलाई अस्थिरतातिर धकेल्ने काम गर्नु हुँदैन ।’ आज बिहान ९ बजे हुने सत्ता गठबन्धनको बैठकमा यसबारे छलफल हुने विश्वास पनि खड्काले व्यक्त गरे ।