काठमाडौं, २२ असार । नेपाली कांग्रेस, गुल्मीका सभापति खिलध्वज पन्थीले पार्टीका जिल्ला सभापतिहरुको भेला नियमित प्रक्रिया भएको बताएका छन् ।
‘कांग्रेसलाई चुस्त, दुरुस्त र गतिशील बनाउन बोलाइएको जिल्ला सभापतिहरुको भेला स्वागतयोग्य छ । यो गुटगत भेला होइन । महामन्त्रीहरुले पार्टी सभापतिसँग सल्लाह गरेर गरिएको सामान्य र नियमित बैठक हो । यसले पार्टीमा रक्तसञ्चार गर्न सक्ने मत्र नभएर नागरिकलाई आशा र भरोसा दिलाउन सक्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
सधैंभरि आरोप-प्रत्यारोप र गुनासै गुनासो गरेर पार्टी अघि बढ्न नसक्ने पनि पन्थीले बताए । उनले थपे, ‘हामी पार्टीलाई एकताबद्ध, सबल र सक्षम बनाउन लाग्नुपर्छ । सधैंभरि एउटै विषयमा रुमल्लिने अनि आरोप प्रत्यारोप र गुनासै गुनासो गरेर पार्टी अघि बढ्न सक्दैन । अब गुटका कुरा नगरौं । को कसको नजिक भनेर कुरा नगरौं ।’
पार्टीलाई विधानसम्मत ढंगले अघि बढाउनुपर्ने र भदौ महिनाभित्र नीति अधिवेशन गर्नुपर्ने पनि पन्थीले औंल्याए । उनले भने, ‘अहिले कांग्रेस जितेर पनि पराजय भएजस्तो अवस्थामा छ । पार्टी कार्यकर्तामा उत्साह छैन । त्यसैले विधान अनुसार अघि बढौं । । नागरिकका इच्छा र आकांक्षाको सम्बोधन गरौं । भदौ महिनाभित्र नीति अधिवेशन गरौं भन्ने सुझाव सभापतिहरुको भेलामा आएको छ । यसलाई बुझेर पार्टीको नेतृत्व अघि बढ्नुपर्छ ।’