Logo

संसद्लाई प्रधानमन्त्रीको ‘रेडिमेड’ जवाफ होइन, राजीनामा चाहिन्छ : एमाले सांसद



काठमाडौं, २२ असार । नेकपा एमालेका नेता एवं सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर संसदीय व्यवस्थाको कदर गर्न आग्रह गरेका छन् ।
‘कोसी प्रदेशमा गठबन्धनको बहुमत देखाउन सभामुखको हस्ताक्षर राख्ने दलहरुले हामीलाई संसदीय व्यवस्था सिकाउनु हास्यास्पद छ । प्रीतमजी मलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली धाएर दुःख गर्नुभयो भन्दा पनि नैतिकताको प्रश्न उठ्दैन ? उहाँले राजीनामा गर्दा मात्र संसदीय व्यवस्थाको कदर हुन्छ । हामी यो कुरा सदन र सदन बाहिर भनिरहन्छौं । राजीनामा नदिएसम्म आवाज घन्काइरहन्छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता गैरेले अब सदनलाई प्रधानमन्त्री प्रचण्डको रेडिमेड जवाफ नचाहिएको बताए । उनले भने, ‘अब उहाँ सदन चलोस् भन्ने चाहनुहुन्छ भने, संविधानको रक्षा र कार्यान्वयन चाहनुहुन्छ भने, नैतिकताको मूल्य र मान्यता देखाउन चाहनुहुन्छ भने प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ । उहाँले बाहिरै त्यसको रेडिमेड जवाफ दिइसक्नुभएको छ । संसदमा आएर त्यही किन बोल्ने ? राजीनामा गरेर आउनुभयो भने प्रतिनिधिसभा सदस्यका हैसियतमा उहाँले बोल्न सक्नुहुन्छ । यही अवस्थामा उहाँ प्रधानमन्त्री रहिरहन मिल्ने अवस्था छैन ।’

 



प्रतिक्रिया दिनुहोस्