Logo

प्राज्ञिक विद्यार्थी परिषदले १५ जिल्लाका दुई हजार पाँच सय २५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने (भिडिओसहित)



काठमाडौं, २२ असार । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले १५ जिल्लाका दुई हजार पाँच सय २५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिषद्ले कक्षा ११ र १२ मा अध्ययनरत १५ जिल्लाका विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण गर्न लागेको जानकारी गराएको हो ।

कार्यक्रममा उपस्थित परिषद्मा आवद्ध व्यक्तिहरुले विद्यार्थीहरुलाई वितरण गर्न लालिएको शैक्षिक सामग्रीको एकसाथ अनावरण गरेका थिए । शैक्षिक सामग्री वितरण अभियान भोलिबाट सुरु भएर ढिलोमा भदौको २० गतेसम्ममा सकिसक्ने तयारी रहेको बताइएको छ ।

आम नेपालीहरूको उद्देश्यअनुरूप शान्त र समृद्ध नेपाल पुनर्निर्माण गर्नु प्राज्ञिक विद्यार्थी परिषद् नेपालको लक्ष्य रहेको छ । विद्यार्थी परिषद्ले आफ्नो लक्ष्य प्राप्तिको आधार असल व्यक्ति निर्माणलाई मानेको छ ।

विद्यार्थी परिषद्ले लामो समयदेखि जीवउपयोगी सीपमा आधारित व्यक्तित्व विकास तालिम, छात्राहरूका लागि मिसन साहसी कार्यक्रम, निःशुल्क कम्प्युटर तालिम, कोचिङ कक्षा, बालसंस्कार कार्यक्रम, सरसफाइ अभियान, वृक्षारोपण, प्रतिभा सम्मानलगायतका कार्य गर्दै आएको छ ।

परिषद्ले २०७२ सालमा भुकम्पबाट प्रभावित जिल्लाहरूमा राहत तथा शैक्षिक सामाग्री वितरण वितरण गरेको थियो । त्यसैरी, कोरोना महामारीको समयमा देशभर सेवाकार्य सञ्चालन गरेको थियो भने २०७८ सालमा बाढी प्रभावित नौ जिल्लाहरूमा राहत सामग्री उपलब्ध गराएको थियो ।

परिषद्ले २०७३ सालमा बाढी प्रभावित तराईका जिल्लाहरूमा शैक्षिक सामग्री वितरण, बारा तथा पर्सीमा हावाहुरी प्रभावित विद्याथीहरूलाई शैक्षिक सामग्री वितरण लगायतका कार्य गरेको थियो ।

परिषद्ले यसवर्ष तेह्रथुम, संखुवासभा, सिराहा, काभ्रे, सिन्धुली, रौतहट, बारा, मकवानपुर, रूपन्देही, बाग्लुङ, गुल्मी, रोल्पा, कालिकोट, जुम्ला र डडेल्धुरामा शैक्षिक सामाग्री वितरण गर्ने भएको छ । वितरण गर्ने शैक्षिक सामग्रीमा व्याग, कपी, कलम, रेपिडेक्स पुस्तक, जोमेक्ट्री बक्स, नेपाली बृहत् शब्दकोश, टोपी लगायत रहेको छ ।

प्राज्ञिक विद्यार्थी परिषद्लाई भारतीय राजदूतावासमार्फत भारतीय जनता र भारत सरकारले शैक्षिक सामाग्री सहयोग गरेको परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीले बताए । परिषद् पछिल्लो पाँच वर्षदेखि ७७ वटै जिल्लामा सेवाको काम गर्दै आएको उनको भनाई छ ।

व्यक्ति निर्माणबाट मात्रै समाज र राष्ट्रको पुनर्निमाण सम्भव छ भन्ने पवित्र लक्ष्य र उद्देश्यका साथ परिषद्ले काम गरिरहेको महासचिव पंगेनीको भनाई छ । महासचिव पंगेनीले समाज र राष्ट्रलाई पहिलो प्राथमिकतामा राखी राजनीतिक पार्टी र अमूक संगठनको विचारभन्दा माथि उठेर काम गर्न सक्ने युवा शक्ति निर्माण नभएसम्म समाज र राष्ट्रलाई राम्रो बनाउन नसकिने बताए ।

सेवाको माध्यमद्वारा पनि समाजलाई जोड्दै जागरण गर्दै लिएर जान सकिन्छ भन्ने लक्ष्य र उद्देश्यलाई लिएर प्राज्ञिक विद्यार्थी परिषद् नेपाल २०५२ सालमा स्थापन भएको उनले बताए । उनले परिषद्मार्फत विभिन्न कालखण्डमा नेपाल सरकार, शिक्षा मन्त्रालय र सरोकारवाला सबैलाई झक्झक्याउने काम भइरहेको पनि बताए । जनता, समाज र राष्ट्रलाई फाइदा हुने गरी आफूहरुले काम गरिरहेको उनको दाबी छ ।

परिषद्का राष्ट्रिय मिडिया कार्य प्रमुख कृष्णप्रसाद हुमागाईंले आफूहरुले सबैको पहुँचमा गुणस्तरिय शिक्षा हुनुपर्छ भनेर लागि परेको बताए । साथै विश्वविद्यालय र क्याम्पसमा हुने राजनीतिक भागबण्डाको अन्त्य हुनुपर्छ भनेर आफूहरु निरन्तर लागिरहेको पनि उनको भनाई छ ।

‘प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सेवा कार्यमात्रै गर्दैन, शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षामा सबैको पहुँच पुग्नुपर्छ । शिक्षामा दलगत राजनीति अन्त्य हुनुपर्छ, क्याम्पस, विश्वविद्यालयमा हुने राजनीतिक भागबण्डाको अन्त्यका लागि परिषद्ले काम गर्छ,’– उनले भने । परिषद्ले आगामी दिनमा पनि शिक्षाका क्षेत्रमा काम गरिरहने उनले प्रतिवद्धता व्यक्त गरे ।

प्राज्ञिक विद्यार्थी परिषद् नेपालका दिनेश कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए भने सुयोग्य न्यौपानेले परिषद् गीत गाएर कार्यक्रमलाई अगाडि बढाए । कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय सचिव जानकी आचार्य, बागमती प्रदेश सचिव निरञ्जन पाठक लगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्