Logo

कुनै पनि शर्तमा प्रधानमन्त्री प्रचण्डको राजीनामा आउँदैनः मन्त्री यादव (भिडियोसहित)



काठमाडौं, २३ असार । खानेपानी मन्त्री महिन्द्र राय यादवले अहिलेको सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिलाउन सफल भएको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले नागरिकता समस्या समाधान, ललिता निवास प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणजस्ता महत्वपूर्ण विषयमा अनुसन्धान अघि बढाएको बताएका हुन् । उनले गठबन्धन सरकारको काम र लोकप्रियता प्रतिपक्ष दललाई मन नपरेर हतासको मानसिकतामा राजीनामा मागेको बताए । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले राजीनामा माग्दैमा कुनै पनि शर्तमा प्रधानमन्त्रीको राजीनामा नआउने मन्त्री यादवले बताए ।

‘बहुमतको सरकार हो । कही दुनियामा यस्तो हुन्छ ? कुनै आधार हुनुपर्यो । निराधार कुराको आरोप लगाएर संसद् अवरोध गरेर प्रधानमन्त्रीको राजीनामा माग्नु भनेको न्याय संगत कुरा हो ? कुनै पनि शर्तमा प्रधानमन्त्रीको राजीनामा आउँदैन,’– उनले भने ।

आफ्नो अभिव्यक्तिबारे प्रश्न उठेवपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने र त्यसका लागि समय माग भएकोसमेत उनले बताए । लोकतन्त्रको सौन्दर्यता वार्ता र संवादद्वारा समाधान भएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले भोलि (आईतबार) आफ्नो अभिव्यक्तिबारे संसद्मा जवाफ दिने र भोलि संसद्को वातावरण सहज बन्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्