Logo

इजरायलमा सिक्न र कमाउन छानिए विद्यार्थी



कैलाली, असार २४। सुदूरपश्चिम विश्वविद्यालयका कृषि विज्ञान विषयका स्नातक तहका ५० जना विद्यार्थी इजरायल जाने चटारोमा छन् । उनीहरू ११ महिना इजरायलमै बस्ने छन् तर उनीहरूको पढाइ टुट्ने छैन । बरु उनीहरूले त्यहाँ सिक्दै कमाउने छन् र कलेजलाई शोधपत्र बुझाएर मात्र उनीहरू फर्कने छन् ।

सो विश्वविद्यालय र नेपालस्थित इजरायलको दूतावासको सहकार्यमा विद्यार्थी आदानप्रदान कार्यक्रम अन्तर्गत ती विद्यार्थी ११ महिनाका लागि इजरायल जाने भएका हुन् । “कृषिमा आधुनिकीकरण भएको इजरायल पुगेर यहाँका विद्यार्थीले कृषि प्रविधि सिकून् भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरेका छौँ,” सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका डिन लालप्रसाद अम्गाईले भने, “त्यहाँ पुगेपछि साताको एक दिन पढ्ने, पाँच दिन काम गर्ने र एक दिन आराम गर्न पाउने छन् । विद्यार्थीले अर्थोपार्जन पनि गर्ने छन् ।”

उनका अनुसार स्नातक चौथो वर्षमा अध्ययनरत ५५ जना विद्यार्थीले आवेदन दिएकोमा नेपालका लागि इजरायलका राजदूत हनान गोडारको उपस्थितिमा सेडोट नेगेभ कलेजका प्राध्यापकको टोलीले टीकापुर बहुमुखी क्याम्पसमा ती विद्यार्थीलाई छनोट गरेको हो ।

इजरायल जाने विद्यार्थीहरूले हवाई टिकट भने आफैँले खरिद गर्नुपर्ने छ । अन्य खर्च विश्वविद्यालय तथा दूतावासको सहकार्यमा गरिने छ । इजरायलको श्रमिक कानुन अनुसार न्यूनतम पारिश्रमिक पाउने र राम्रो काम गर्न सक्नेले बढी पनि कमाउन सक्ने छन् ।

ती विद्यार्थीले मासिक कम्तीमा एक लाख रुपियाँ आम्दानी गर्ने छन् । उनीहरू आगामी सेप्टेम्बरमा इजरायल जाने छन् । विद्यार्थी लुइस रिजालले यो अवसर आफ्ना लागि निकै महत्वपूर्ण भएको र चाहेभन्दा राम्रो अवसर पाएको बताए। “नेपालमा कृषक र कृषि पढ्नेलाई महत्वसाथ नलिने गरिएको अवस्थामा यस्तो अवसरले आत्मबल बढाएको छ। केही अर्थोपार्जन पनि हुने छ,” उनले भने ।

अर्का विद्यार्थी सुष्मा रेग्मीले पनि इजरायल जान पाउनु आफ्ना लागि राम्रो मौका भएको उल्लेख गर्दै देशमा सिप र प्राविधिक ज्ञान थपिने बताए। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्