Logo

एमाले नेतालाई प्रश्न– प्रधानमन्त्रीलाई आज संसदमा बोल्न दिने कि नदिने ?



काठमाडौं, २४ असार । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री कर्णबहादुर थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदीय मर्यादामा नरहकाले राजीनामा माग्नुपरेको बताएका छन् ।
‘प्रचण्डले भावना आएर भन्नुभयो, आवेग आएर भन्नुभयो वा यथार्थ कुरा गर्नुभयो । तर देश र जनताको आत्मसम्मानमा त चोट पुग्यो नि । यसमा प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन ? उहाँलाई कसैले अह्राएको खटाएको होला । भनेको त उहाँले नै हो नि,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता थापाले एमालेले उठाउनै पर्ने नैतिकताको प्रश्न उठाएर राजीनामा मागेको दाबी पनि गरे । उनले थपे, ‘राजीनामा दिनुहुन्छ कि दिनुहुन्न, त्यो प्रचण्डको कुरा हो । तर नैतिक प्रश्न त हो नि । दिल्ली धाएर नेपालको प्रधानमन्त्री बनेको भन्दा प्रतिपक्षले देशको स्वाभिमान बढाउनुभयो भन्ने त ? प्रधानमन्त्रीले कहिले राजीनामा दिनुहुन्छ भनेर हामीले तिथिमिति तोक्ने कुरा हुँदैन । राजनीतिमा कसम खाने कुरा पनि हुँदैन । हामीले राजीनामाको विषय उठायौं, त्यसको मूल्यांकन जनताले गर्छन् ।’
आज संसद्मा प्रधानमन्त्रीलाई बोल्न दिने कि नदिने भन्ने प्रश्नमा उनले भने, ‘अरुको गोटीको रुपमा प्रयोग हुनु प्रचण्डको नियति बनिसक्नुभयो । मैले आफ्नो कुरा राख्नु पाउनुपर्छ भन्नुलाई अन्यथा लिनु पर्दैन । तर स्पष्टीकरण त जहाँ दिए पनि भयो नि । मिडिया दिए पनि सडकमा दिए पनि भयो । राजनीतिमा जिम्मेवारी र जवाफदेहिता हुन्छ । उहाँले राजीनामा दिनुहुन्छ कि हुन्न, संसद् कहिले चल्छ आदि प्राविधिक कुरा हुन् ।’
देशलाई अघि बढाउन कांग्रेस एमाले मिल्नुपर्ने पनि थापाले औंल्याए । उनले भने, ‘एमाले महासचिव शंकर पोखरेलले अहिले आएर भन्नुभयो । मैले त धेरै पहिलेदेखि भन्दै आएको छु । देशलाई अगाडि बढाउने हो भने मुख्य शक्तिहरु मिल्नु जरुरी छ । विचार र जनसमर्थनक हिसालबे जनताको शक्तिको प्रतिनिधित्व कांग्रेस र एमालेले गर्छन् । अरु साना दलहरुले च्याँखे दाउ थाप्ने मात्र हुन् । यी साना दलहरु २०५१ देखिका अस्थिरताका कारक हुन् । त्यसैले कांग्रेस र एमाले मिलेर जानु राम्रो हुन्छ । अब पदभन्दा परिणाम जरुरी हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्