Logo

हेटौंडामा केएमसीको निःशुल्क स्वास्थ्य शिविरः २ हजार बढी बिरामी लाभान्वित



मकवानपुर, असार २४। काठमाडौं मेडिकल कलेजको सहकार्यमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका आयोजना भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । हेटौंडा हेटौंडा स्कुल अफ म्यानेजमेन्टसँग सहकार्यमा आयोजित २ दिने निःशुल्क स्वास्थ्य शिविरमा २ हजार १ सय २० जना बिरामी लाभान्वित भएका छन् ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गरेकी हुन् । उनले आगामी दिनमा पनि केएमसीसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै निःशुल्क शिविरबाट गरिब तथा विपन्न बिरामीलाई निकै फाइदा पु¥याएको बताइन् ।

केएमसीका जेनेरल मेनेजर नारायण दाहालले स्वास्थ्य शिविरमा आम नागरिकलाइ अस्पतालको स्वास्थ्य सेवाका बारेमा जानकारी दिँदै केएमसीले नयाँ नयाँ उपचार प्रविधिहरू भित्र्याइरहेको बताए । समय नपुगिकन जन्मिएका शिशुहरूको उपचारका लागि केएमसीले नेपालमै पहिलो पटक आमाको गर्भाशयमा जस्तो वातावरण हुन्छ त्यस्तै वातावरणमा शिशुलाई राख्ने उपकरण समेत थप गरिएको र मिर्गौला प्रत्यारोपण सेवा समेत थालिएको बताए ।

यस्तै, केएमसीले गंगालाल अस्पतालको भन्दा अत्याधुनिक जर्मन प्रविधिको उपकरणबाट मुटुरोगको विशेष सेवा दिन थालेको जनाउँदै एमआरआइ, सिटि स्क्यान जस्ता अत्याधुनिक सेवाहरू प्रदान गरिरहेको दाहालले जानकारी दिँदै बागमती प्रदेशका जनतालाई गुणस्तरीय सेवा प्रदान गर्न केएमसी प्रतिबद्ध रहेको जानकारी दिए ।

२ दिनसम्म चलेको शिविरमा ५७४ जनाको भिडियो एक्सरे, ५२२ जनाको रक्त परीक्षण, ३५० जनाको इसीजी र २५१ जनाको इको गरिएको थियो । शिविरमा ५१ जनाको दाँत फुकालिएको र शिविरमा उपचार सम्भव नभएका १०५ जनालाई थप उपचारका लागि अस्पताल रेफर गरिएको छ ।

शिविरका लागि केएमसीबाट विशेषज्ञ डाक्टरहरुसहित ३५ जनाको टोलीले बिरामीहरूको स्वास्थ्य जाँच गरेका थिए । शिविरमा केएमसीले पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने उपकरण समेत लगेको थियो ।

केएमसीकी अध्यक्ष सोइना शर्माले गरिब तथा विपन्न बिरामीलाई लक्षित गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउँदै यस अभियानलाई निरन्तर अगाडी बढाउने बताइन् । केएमसीका तत्कालिन कार्यकारी अध्यक्ष हाल प्रतिनिधि सभा सदस्य डा। सुनिलकुमार शर्माले निःशुल्क स्वास्थ्य शिविरको सुरूवात गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्