Logo

साहित्य र सिर्जनाले जनताको भावना बोल्नुपर्छ : प्रधानमन्त्री



काठमाडौं, असार २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्ने बताएका छन्।

सोमबार बिहान पुष्पलाल प्रतिष्ठानद्वारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार २०७९ समर्पण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य निर्माणको सङ्कल्प गरिसकेका कारण हाम्रा सिर्जनाहरूसमेत समाजवादको वैचारिक एवम् सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्ने बताएका हुन् ।

राजनीतिक, इतिहास, साहित्य संस्कृति र विज्ञानको क्षेत्रमा भएको सिर्जनशीलताले देशको सर्वोपरि विकास, समृद्धि र समुन्नत समाज निर्माणमा मद्दत पुग्ने उहाँको भनाई छ ।

प्रधानमन्त्रीले गरेको सम्बोधनको पूर्णपाठ
आजको यस गरिमामय समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित भई पुष्पलाल राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुहुने स्रष्टाहरूलाई सम्मान गर्ने अवसर पाएकोमा खुसी लागेको छ । सर्वप्रथम पुरस्कृत हुनुहुने सम्पूर्ण स्रष्टाहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दै सिर्जनाको क्षेत्रमा निरन्तर प्रगतिको कामना गर्दछु ।

राष्ट्रको समग्र विकास र संवृद्धिका निम्ति, मुलुकको अग्रगामी परिवर्तनको निम्ति इतिहासका विभिन्न कालखण्डमा राजनीतिक व्यक्तित्व, लगायत विभिन्न विधासँग सम्बन्धित व्यक्तित्वहरूले महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको छ । यसै यथार्थलाई हृदयङ्गम गरी राज्यले विभिन्न विधामा विशिष्ट योगदान पुर्‍याउँदै आउनुभएका अग्रज व्यक्तित्वहरूको नाममा विभिन्न प्रकारका पुरस्कारको स्थापना गरी योगदानको उचित कदर र सम्मान गरेको तथ्य विदित नै छ । यसका निम्ति मन्त्रालय र पुष्पलाल प्रतिष्ठान परिवारप्रति आभार व्यक्त गर्दछु ।

युगान्तकारी राजनीतिक परिवर्तनसहितको आजको सङ्घिय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थासम्म ल्याई पुर्‍याउन कमरेड पुष्पलालले अनुसरण गर्नुभएको सिद्धान्त, विचार, नीति र देखाउनुभएको मार्ग निर्देशनले ठूलो अर्थ राख्दछ । नेपालको कम्युनिष्ट आन्दोलनमा मात्र नभएर सिङ्गो राजनीतिक आन्दोलनमा कमरेड पुष्पलालको योगदान निकै विशिष्ट प्रकृतिको रहेको छ । सही र वैज्ञानिक विचारधारात्मक कार्यदिशासहित कम्युनिष्ट आन्दोलनको नेतृत्वका निम्ति, जनवादी क्रान्तिको विकासका निम्ति, कम्युनिष्ट आन्दोलनको एकताका निम्ति र कम्युनिष्ट मूल्य–मान्यता र संस्कृति निर्माणका निम्ति विचार र व्यवहारमा उहाँको नेतृत्व हामी सबैका निम्ति अनुकरणीय र प्रेरणादायी रहँदै आएको छ । यस सन्दर्भमा पुष्पलालका शिक्षाहरूलाई जीवन व्यवहारमा लागू गर्ने सङ्कल्प गरेर मात्र उहाँप्रति सच्चा सम्मान हुने तथ्यसमेत म स्मरण गर्न चाहन्छु ।

आर्थिक वर्ष २०६८/०६९ देखि पुष्पलाल राष्ट्रिय पुरस्कार समर्पण गर्ने व्यवस्था निरन्तर कार्यान्वयन हुँदै आएको छ, यस वर्ष पनि विगतमा जस्तै यो पुरस्कार वितरण कार्यलाई निरन्तरता दिइएको छ । यस वर्षको पुष्पलाल राष्ट्रिय पुरस्कारको राजनीतिक, सैद्धान्तिक विधा, इतिहास विधा, साहित्य, संस्कृति, विज्ञान विधा लगायतका विधातर्फ छनोट भई पुरस्कृत हुनुभएकोमा सबै पुरस्कृत सिर्जनशील प्रतिभाहरूलाई हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछु ।

पुरस्कृत प्रतिभाहरूले राज्यको तर्फबाट प्रदान गरिएका यस किसिमका पुरस्कार तथा सम्मानबाट आ–आफ्नो कार्यको मूल्याङ्कन भएको महशुस गर्दै गौरवान्वित हुनुहुनेछ भन्ने आशा लिएको छु । साथै पुरस्कृत व्यक्तित्वहरूको थप दायित्व तथा जिम्मेवारी थपिएको हुँदा तपाईंहरूबाट आगामी दिनमा सम्बन्धित क्षेत्रमा अझ बढी सक्रियता र योगदानको अपेक्षा गर्दछु ।

राजनीतिक, इतिहास, साहित्य संस्कृति र विज्ञानको क्षेत्रमा भएको सिर्जनशीलताले देशको सर्वोपरि विकास, समृद्धि र समुन्नत समाज निर्माणमा मद्दत पुग्दछ । यो पुरस्कारबाट पुरस्कृत प्रतिभाहरूको प्रेरणाबाट यस क्षेत्रमा लागिरहनुभएका अन्य स्रष्टाहरूलाई पनि आ–आफ्नो विधा तथा क्षेत्रमा राष्ट्रलाई योगदान गर्नमा प्रोत्साहित गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।

जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य निर्माणको संकल्प गरिसकेका कारण हाम्रा सिर्जनाहरूसमेत समाजवादको वैचारिक एवम् सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्नेमा सायदै बिमति रहला । अन्त्यमा, समाजवादी संस्कृति निर्माणको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारका विरूद्ध र सुशासनको पक्षमा श्रम संस्कृतिको विकास गर्नसमेत यहाँहरूजस्ता स्रष्टाहरूबाट महत्त्वपूर्ण योगदान हुने विश्वास राख्दै आफ्नो मन्तव्य यही अन्त्य गर्दछु, धन्यवाद ।



प्रतिक्रिया दिनुहोस्