काठमाडौं, २६ असार । एमाले नेतृत्वको गठबन्धनबाट बाहिर ल्याएर कांग्रेस नेतृत्वकै गठबन्धनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई सहभागी गराउन सक्रिय भूमिका खेलेका नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा पछिल्लो समय अध्यक्ष प्रचण्डसँग असन्तुष्ट बनेका छन् ।
पार्टी अध्यक्ष प्रचण्ड सरकारको नेतृत्वमा हुँदा र प्रचण्डविरुद्ध चौतर्फी आक्रमण हुँदापनि शर्मा मौन बस्नुलाई धेरैले अर्थपूर्ण रुपमा हेरेका छन् । खासगरी दाहालले आफूलाई साईजमा राख्नको लागि अर्का उपमहासचिव वर्षमान पुनमार्फत खेलेको शर्माको बुझाई छ । दाहालको रणनीति बुझेर शर्माले पुनसँगको दोस्ती सुमधुर बनाएका छन् ।
अहिले शर्मा र पुन निरन्तर छलफलमा बसेका छन् । यी दुई नेताको दोस्ती बढेको देखेपछि दाहाल भने झनै तर्सिएका छन् । माओवादीनिकट उच्च स्रोतकाअनुसार अध्यक्ष दाहालले अहिले पार्टीको कुनैपनि कमिटीको बैठक बोलाउन आलटाल गरिरहेका छन् । त्यसको प्रमुख कारण भनेको नै बैठकमा शर्मा र पुन संयुक्त रुपमा अध्यक्षको आलोचनामा उत्रिने तयारी गर्नु हो ।
शर्मा पछिल्लो समय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पनि जान छाडेको चर्चा चल्न थालेको छ । पुन चीनबाट उपचार गरेर फर्किएपछि एकपटक बालुवाटार गएको र अहिले उनीपनि जान छाडेको चर्चा छ । शर्मा र पुनको आन्तरिक हिमचिम बढेको सूचना पाएपछि दाहाल पार्टीको बैठकबाट तर्किएको उच्च स्रोतको दाबी छ ।
शर्मा त बजेट विनियोजन गर्दा आफूहरुलाई बाईपास गरिएको भनेर आक्रोशित बनेका छन् । प्रधानमन्त्री दाहालले भने पार्टीभित्र नेकपाका महासचिव नेत्रविक्रम चन्दलाई भित्र्याउने गृहकार्य थालेका छन् ।
उनी विप्लवलाई महासचिव बनाएर शर्मा र पुनलाई फेरि साईजमा राख्ने सोचमा छन् । प्रचण्डको विप्लव भित्र्याउने रणनीति राम्रोसँग बुझेका शर्मा भने यसपटक अध्यक्ष प्रचण्डसँग वारपारको लडाईं लड्ने मुडमा पुगेका छन् ।
उनले अहिले आफ्नो गुटलाई सक्रिय बनाउन थालेका छन् । यसमा अर्का उपमहासचिव पुनको पनि दरिलो साथ रहेको चर्चा चलेको छ । शर्माले पुनसँगको भेटवार्तामा पार्टी निश्क्रििय भएको भन्दै बलियो बनाउनको लागि सकारात्मक कदम चाल्नुपर्ने धारणा राख्ने गरेका छन् । पछिल्लो समय अध्यक्ष प्रचण्ड परिवारवादमा फसेको शर्माको गुनासो छ। आफूहरुको कुनै कुराको सुनुवाई नभएपछि शर्मा दाहालसँग फायर भएका हुन् ।
file photo