काठमाडौं, असार २८ । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एयरलाइन्सले इन्टरनेट बुकिङ्ग इन्जिन (आबिई) सेवा सुरु गरेको छ । यसबाट ग्राहकहरूले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधा अनुसार एयरलाइन्सको वेबसाइट www.himalaya-airlines.com मा गएर टिकट बुकिङ्ग गर्न सक्नेछन् । यस सुबिधाको प्रयोग गरी यात्रुहरूलाई विभिन्न गन्तव्यहरूसँग जोडिन सहज हुने एयरलाइन्सले जनाएको छ ।
यो सेवाको प्रारम्भिक चरणमा ग्राहकहरूले टिकट खरिदका लागि इसेवा वालेट, मास्टरकार्ड र भिसा कार्डबाट भुक्तानी गर्न सक्नेछन् भने युनियन पेर कनेक्ट आईपिएस निकट भविष्यमा उपलब्ध हुने एयरलाइन्सले जनाएको छ । यसका साथै रिफन्ड रिक्वेस्ट, टिकटको मुल्य खोजी, बुकिङ्ग व्यवस्थापन सहित अतिरिक्त सेवाहरूको उपभोग गर्न सकिने एयरलाइन्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एयरलाइन्सले ब्यागेज प्रि– बुकिङ्ग, सिट र खाना सेलेक्सन, लाउन्ज सेवाको बुकिङ्ग, संयुक्त सेवाहरू (कम्बाईन्ड सर्भिस) चयन गर्नेजस्ता विभिन्न अन्य सेवाहरू पनि ल्याएको छ । साथै, यात्रुहरूले विमानस्थलमा समय बचत गर्नको निम्ति अनलाईन चेक–इन पनि गर्न सक्नेछन् ।
एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने, “ यस नयाँ सेवाको सुरुवातले हिमालय एयरलाइन्स प्रयोग गर्ने यात्रुले प्राप्त गर्ने सेवा सुविधामा सहजता हुने छ । हामी बढीभन्दा बढी गुणस्तरिय सेवा प्रदान गर्न सदैव तत्पर रहेकाले अनलाइन टिकटको लागि सरल, छिटो–छरितो र अधिक सुविधाजनक प्रयोगकर्ता अनुभवको आनन्द प्रदान हुने गरी इन्टरनेट बुकिङ्ग इन्जिन सेवाको घोषणा गर्न पाउँदा हामी अत्यन्तै खुशी छौँ ।”
यस नयाँ सेवाबाट हिमालयले आफ्ना ग्राहकहरुलाई सहज रुपमा टिकट बुकिङ्ग अनुभव प्रदान गर्ने छ । हिमालय एयरलाइन्सले हाल तीन एयरबस ३२० – २१४ (१८० मितव्ययी सीटहरू) र एक एयरबस ३१९–११५ (१४४ मितव्ययी सीटहरू) मार्फत हवाई सेवा दिदै आएको छ । एयरलाइन्सले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू–संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ ।