Logo

‘भारतले नेपालसँग १० हजार मेगावाट बिजुली किन्छौं भनेको कि नदीनालामा आफैं बिजुली निकालेर लैजान्छौं भनेको ?’



काठमाडौं, २९ असार । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले नेपालको परराष्ट्र नीति संविधान र संयुक्त राष्ट्रसंघको बडापत्र बमोजिम नचलेकाले विदेशी चलखेल बढेको आरोप लगाएका छन् ।
‘दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक मन्त्री डोनाल्डको भ्रमण हुनै हुँदैन भन्ने होइन । तर, नेपालको परराष्ट्र नीति संविधान र संयुक्त राष्ट्रसंघको बडापत्र बमोजिम चलेको छैन । मुलुकको बागडोर सम्हालेका मानिसहरुले नै सविधानको धारा ५१ (ग) लाई बिर्सेर मुलुकको नदीनाला, जडीबुटी, खानीलगायतका साधन र स्रोत जिम्मा लगाउने, विदेशीको सामरिक स्वार्थ बमोजिम चल्ने गर्दा जनताको सार्वभौम अधिकार कुण्ठित हुँदै गएका छन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
पूर्व परराष्ट्रमन्त्री समेत रहेका रावलले नेपालले भारत, चीन, अमेरिकासँग पारस्परिक लाभका आधारमा सम्बन्ध बढाउनुपर्ने औंल्याए । राष्ट्रिय हित र सुरक्षालाई तिलाञ्जलि दिएर सत्तामा टिकिरहन एमसीसी पारित गरेको उनको आरोप छ । उनले प्रश्न गरे, ‘एमसीएले मन्त्रालयसँग गरेका सम्झौता हाम्रा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले अध्ययन गर्नुभएको छ कि छैन ?’
आफ्नो देशको हितको कुरा गर्नु कसैको विरोध नहुने दाबी पनि रावलले गरे । उनले भने, ‘भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालापानी, लिपुलेक, लिम्पियाधुराबारे के बोल्नुभयो ? तराईको डुबानबारे के बोल्नुभयो ? भारतले बनाएको सांस्कृतिक नक्साबारे के बोल्नुभयो ? प्रबुद्ध समूहको प्रतिवेदनबारे बोल्नुभयो ? उहाँले नेपालका भूलभूत स्वार्थबारे कुरै गर्नुभएन । एउटा स्वाधीन देशको प्रधानमन्त्रीले गर्नुपर्ने कामै गर्नुभएन ।’
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा १० वर्षमा १० हजार मेगावाट बिजुली बेच्ने नभई भारतलाई नदीनाला जिम्मा लगाउने सम्झौता गरेको आरोप पनि रावलले लगाए । उनले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतले नेपाललाई बढी भएको १० हजार मेगावाट बिजुली हामी किन्छौं भनेको हो कि नदीनाला नै लिएर आफैं बिजुली निकालेर लैजान्छु भनेको हो ? किन्छु भनेको हो भने कुन सम्झौतामा भनेको छ ? त्यसलाई किन गोप्य राखिएको छ ? प्रधानमन्त्रीले संसद्मा जानकारी किन गराउनुभएको छैन ?’
नेपाली कांग्रेस र नेकपा एमालेले मिलीजुली सरकार बनाउनु घोर अनैतिक काम हुने पनि रावलले औंल्याए । उनले भने, ‘नेपाली कांग्रेसले दलाल पुँजीपति र पुराना सामन्तको प्रतिनिधित्व गर्छ । उसले अरु देशसँग भएका असमान सन्धि सम्झौताको विरोध गर्दैन । नेकपा एमालेले समाजवादको नीति लिएको छ । कथित उदार पुँजीवादी र समाजवादी सिद्धान्त कसरी मिल्छ ? मिलीजुली बाँडेर खाने हो भने सिद्धान्त विघटन गरिदिए हुन्छ ।’
कांग्रेस र एमालेको एउटा निर्वाचनदेखि अर्को निर्वाचनसम्मको उफ्राइले फौजदारी अपराध गरेको र अर्को पार्टीको सभापतिलाई समेत टिकट दिने स्थितिमा पुगेको आरोप पनि रावलले लगाए । नक्कली भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा प्रमाण कागज, घटना र व्यवहार हेर्दा कसैलाई थुन्ने, कसैलाई आँखा चिम्लने गरिएको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्