काठमाडौं, असार २९ । नेपाली साहित्यका नक्षत्र आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्तीको अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भानुभक्तको शालिकमा माल्यार्पण गरेका हुन् । कार्यक्रममा बालबालिका तथा युवाहरु भानुभक्तको पोस्टरसहित सहभागी भएका थिए ।
भानुभक्त नेपाली साहित्यका प्राथमिक (प्रथम) कालका प्रतिनिधि कवि हुन् । उनी वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । संस्कृत भाषामा लेखिएको राजा रामको जीवनीलाई भावानुवादसहित ‘रामायण’ प्रस्तुत गरेर भानुभक्त आचार्यले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्। उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा लय हालेर पाठ गरिन्छ ।
पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउन अर्ती दिएपछि भानुभक्तले रामायणलाई नेपाली भाषामा रचना गर्न प्रेरित भएका थिए ।
भानुभक्तले ‘बधुशिक्षा’ ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ र अन्य फुटकर कृतिहरुको रचना गरेका छन्। आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ को कट्टर विरोधी भएर कवितामा भोलिको घोर विरोध गरेका छन् ।
नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउन भानुभक्तको ऐतिहासिक योगदान रहेको छ ।
भानुको जन्मजयन्ती नेपाल बाहिर भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी रहेका देश एवं स्थानमा समेत मनाउने गरिएको छ ।
फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल